कोषले योगदानकर्तालाई ७५ लाखसम्म घरकर्जा दिने

काठमाण्डौं /सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई एक करोड रुपैयाँसम्मको कर्जा तथा सापटी दिने योजना सञ्चालनमा ल्याएको छ । लगानी कार्यविधि पारित गर्दै योगदानकर्तालाई घर कर्जा, शैक्षिक कर्जा, सामाजिक कार्य कर्जा र विशेष सापटी सुविधा सञ्चालनमा ल्याएको हो ।

कोषका प्रवक्ता विवेक पन्थीका अनुसार योगदानकर्ताले ७५ लाख रुपैयाँ वा १५ वर्षको तलबबराबर घरकर्जा सुविधा पाउनेछन् । त्यस्तै, ३५ लाख रुपैयाँसम्मको शैक्षिक कर्जा र पाँच लाख रुपैयाँसम्मको सामाजिक कार्य (विवाह, व्रतबन्ध आदि) कर्जा सुविधा पाउनेछन् । सामाजिक सुरक्षा कोषमा आबद्ध भई लगातार तीन वर्षसम्म योगदान रकम जम्मा गर्ने योगदानकर्ताले मात्रै यस्तो कर्जा प्राप्त गर्न सक्ने कोषका प्रवक्ता पन्थीले बताए ।

कोषले घर सापटीका लागि धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी ७५ लाख रुपैयाँ, योगदानकर्ताको १५ वर्षको तलब, योगदानकर्ता साठी वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलबमध्ये जुन कम हुन्छ, सोहीबराबरको सापटी योगदानकर्तालाई प्रदान गर्छ । पति र पत्नी दुवैजना योगदानकर्ता भएमा एउटै धितोबाट दुईजनाको नाममा सापटी हिसाब गर्दा सापटीको अधिकतम सीमा दुवैजनाको तलबमानका आधारमा अलग–अलग कायम गरी सापटी प्रदान गर्न सकिनेछ । यसरी अलग–अलग सापटी प्रदान गर्दा धितो मूल्यांकनबाट कायम भएको रकमभन्दा बढी प्रदान नगर्ने सापटी निर्देशिकामा उल्लेख गरिएको छ ।

घर निर्माण गर्ने प्रयोजनका लागि घर सापटी दिँदा कम्तीमा दुई किस्ता र अधिकतम चार किस्ता कायम गरिएको छ । पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा २५ प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्यांकनकर्ताले सिफारिस गरेको प्रगति विवरणका आधारमा कायम गरिनेछ । तर, घर खरिद गर्दा स्वीकृत रकम एकमुष्ट प्रदान गरिने कोषले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज