काठमाडौं/ नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई स्वदेश तथा विदेशी बजारमा प्रवद्र्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मङ्सिर २३ देखि २७ गतेसम्म १९औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिता हुनेभएको छ ।
नेपाल हस्तकला महासङ्घले पत्रकार सम्मेलनको आयोजना गरि यसको जानकारी दिएको हो । प्रर्दशनीले नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध, विकास, विदेशी हस्तकला आयातकर्ता र उपभोक्तलाई एकै स्थानमा भेला गराइ हस्तकला वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य रहेको छ ।
मेलामा एक सय ३० व्यापारिक कक्ष राखिने मेलाका संयोजक दिल्लीरत्न तुलाधरले जानकारी दिए । उक्त अवसरमा दिइएको जानकारी अनुसार नेपालबाट वार्षिक रुपमा ६० भन्दा बढी मुलुकमा १२ अर्ब बराबरको हस्तकलाका सामग्री निर्यात हुँने गरेको छ । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले देशको व्यापार घाटा कम गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन हस्तकला क्षेत्रले महत्वपूर्ण योगदान गरेको दावी गरे।
“स्वदेश तथा विदेश गरेर वार्षिक झण्डै २४ अर्ब बराबरको हस्तकला कारोबार हुँदै आएको छ, यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आठ लाखलाई रोजगारी प्रदान गर्दै आएको छ”, अध्यक्ष शाक्यले भने ।
उनका अनुसार मेलामा एउटै छातामुनी हस्तकला वस्तुको प्रदर्शनी, उत्कृष्ट व्यापारिक कक्ष प्रतियोगिता, परम्परागत र नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर, जेष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान, अग्रणी निर्यातकर्तालाई सम्मान गरिनेछ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको निर्यात क्षेत्रमा हस्तकला क्षेत्रको ६ प्रतिशत योगदान रहेको बताउँदै आगामी दिनमा यसलाई बढाउन आवश्यक रहेको बताए। उनले सीप भएका कलाकारलाई राज्यले सम्मान गरेमात्र यो क्षेत्रले अझै गती लिने विश्वास व्यक्त गरे ।