नियमविपरीत असुलेको रकम पुसभित्रै फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ /वाणिज्य बैंकहरूले नियमविपरीत ब्याज बढाई असुलेको रकम यही पुसभित्रै ऋणीलाई फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । हाल सञ्चालनमा रहेका २५ वटै वाणिज्य बैंकले प्रिमियम बढाएर ऋणीबाट नियमविपरीत असुलेको कुल ४ अर्ब ६६ करोड रुपैयाँ उठाएका थिए । यो तथ्य सार्वजनिक भएपछि राष्ट्र बैंकले ब्याज बढाई असुलेको रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले ती बैंकलाई रकम फिर्ता गर्ने प्रतिबद्धता गराएर मात्र गत आर्थिक वर्षको साधारणसभाको अनुमति दिएको छ । शुक्रबारसम्म कृषि विकास बैंकबाहेक सबै वाणिज्य बैंकले साधारणसभा गर्न अनुमति पाएका छन् भने आधाभन्दा धेरैले सम्पन्न नै गरिसकेका छन् ।

साधारणसभाको अनुमति पाएका सबै वाणिज्य बैंकले बढी ब्याज असुलेको राष्ट्र बैंकले भेट्टाएको छ । सबैभन्दा बढी एनआईसी एसियाको ४८ करोड, नबिलको ४७ करोड र ग्लोबल आईएमईको ४५ करोड रुपैयाँ छ । सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले करिब ४८ लाख रुपैयाँ ब्याज फिर्ता गर्नुपर्ने भएको छ । पुसभित्र रकम फिर्ता नपाए सुरुमा सम्बन्धित बैंकमा सम्पर्क गर्न र त्यति गर्दा पनि पैसा नपाए राष्ट्र बैंकमा उजुरी गर्न ऋणीलाई राष्ट्र बैंक अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज