पोखरामा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

पोखरा/ पर्यटकीय नगरी पोखरामा देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल आइतबारबाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक विशेष समारोहकाबीच विमानस्थलको उद्घाटन गरेका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बाराको निजगढमा पूर्ण क्षमताको विमानस्थल निर्माण प्रक्रिया छिट्टै सुरु हुने बताए । ‘देशमा तीनवटा विमानस्थल सञ्चालनमा आए, हाम्रो जस्तो भौगोलिक बनावट भएको देशमा हवाई पूर्वाधार आवश्यक छ,’ प्रधानमन्त्री दाहालले भने, ‘अझै देशमा पूर्ण क्षमताको विमानस्थल आवश्यक छ, निजगढ निर्माण छिट्टै सुरु हुन्छ ।’

विमानस्थल निर्माणका लागि पोखराको छिनेडाँडामा ०३२ सालमा ३१ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहणको ४१ वर्षपछि वैशाख ०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो । शिलान्यासपछि थप करिब आठ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । निर्माणको काम भने १८ साउन ०७४ बाट सुरु गरिएको हो ।

हिमालय एयरलाइन्सले न्यारोबडी विमानबाट पोखरा विमानस्थलमा डेमो फ्लाइट गरेको छ । विमानस्थलबाट आइतबारदेखि आन्तरिक उडान सुरु भए पनि अन्तर्राष्ट्रिय उडान भने अनिश्चित छ । बाह्य देशमा उडानका लागि केही कागजी प्रक्रिया बाँकी रहेकाले त्यो पूरा भएपछि मात्र अन्य देशमा सीधा हवाई सेवा सुरु हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज