काठमाडौं/ मंसिरमा जीवन बीमा कम्पनीहरूले मंसिर महिनामा १३ अर्ब रूपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १९ वटा जीवन बीमा कम्पनीहरूले उक्त रकम आर्जन गरेका हुन् । यो रकम कात्तिकको तुलनामा ३१ प्रतिशतले बढी हो । कात्तिकमा जीवन बीमा कम्पनीहरूले १० अर्ब २३ करोड रूपैयाँ आर्जन गरेका थिए ।
मंसिरमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीमा राष्ट्रिय बीमा संस्थान छ । कम्पनीले मंसिरमा मात्रै ४ अर्ब ८ करोड रूपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । उक्त कम्पनीले मंसिरमा मात्रै २ अर्व ७२ करोड रूपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार मंसिरमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम ९ करोड ३० लाख रूपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मंसिरमा १५ करोड २१ लाख बीमा शुल्क आर्जन गरेको छ ।