नारायणी नदी आइतबारदेखि ‘क्रुज सिप’ सञ्चालनमा आएको छ। राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले करिव १५ करोड रुपैयाँको लगानीमा यो क्रुज सिप निर्माण गरेको हो ।
नेपालमा पहिलो पटक यस्तो क्रुज सिप सञ्चालनमा आएको हो । नारायणी नदीमा यो क्रुजमा बसेर एक घन्टासम्म यात्रा गर्दा ७ सय रुपैयाँ शुल्क तोकिएको छ । यसबाहेक यात्रुहरुलाई विभिन्न सुविधिा सहितको प्याकेज पनि तयार पारिएको प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए।
प्रबन्ध निर्देशक कँडेलका अनुसार ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।
क्रुज सिपभित्र रेष्टुरेन्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू राखिएका छन्। भरतपुर महानगरपालिका(१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुज सिपको स्टेसन रहेको छ। तीन तल्लाको क्रुजमा १८० जना यात्रु एकैसाथ चढ्न मिल्छ।