काठमाडौँ /नेपाल राष्ट्र बैंकले आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा नै नगद मार्जिन बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था हटाएको छ । एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था हटाएको हो ।
२०७८ मंसिर र माघदेखि करिब १६ सय वस्तुको आयात गर्दा एलसी खोल्दा नै ५० देखि शत प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्थाको शुरुवाती दिन देखि नै उद्योगी व्यसायीले विरोध गर्दै आएका थिए । यस्तो व्यवस्था खारेजीका लागि व्यवसायीहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गर्दै आइरहेका थिए । राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था हटाएपछि कुनै पनि वस्तु आयात गर्नका लागि अव ब्यवसायीहरुले नगद मार्जिन राख्नु पर्दैन ।
आयात अत्याधिक बढेको र यसले विदेशी मुद्रा सञ्चिति घटाएपछि राष्ट्र बैंकले आयात निरुत्साहनस्वरुप यस्तो प्रयास गरेको जनाएको थियो । अहिले आयात घटेको र विदेशी मुद्रा सञ्चितिमा सुधार भएको भन्दै उक्त व्यवस्था हटाइएको हो ।