काठडमाडौं /नेपालमा बनेका सवारी साधन दर्ता गर्न कार्यविधि बन्दैछ । यातायात व्यवस्था विभागबाट उक्त कार्यविधि बनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश हुने तयारीमा रहेको हो ।
हालसम्म नेपालमा बनेका सवारी साधन दर्ताबारे कुनै पनि कानुन छैन । जसले गर्दा नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा जान सकेका छैनन् । नेपालमा पहिलो पटक यात्री मोटरसाइकल एक्सपिरियन्स सेन्टरले विद्युतीय मोटरसाइकल तयार पारेको थियो । अहिले यात्रीको बजार विस्तार हुँदैछ । यस्तैमा बहान नामक नयाँ नेपाली बाइक उत्पादन कम्पनी पनि थपिएको छ । तर यी कम्पनीहरू दर्ता प्रक्रियामा जान सकेका छैनन् ।
नेपाली कम्पनीको मोटरसाइकल खरिदकर्ताले नम्बर प्लेट बिनानै बाइक चलाउन बाध्य छन् । यसले गर्दा उनीहरूलाई विभिन्न समय ट्राफिक प्रहरीहरूबाट सास्ती पाउनुपरेको गुनासो छ । यस्ता गुनासा पर्न थालेपछि सरकारले नयाँ कार्यविधि ल्याउन लागेको हो ।
कार्यविधिको ड्राफ्ट अन्तिम चरणमा रहेको दुई साताभित्र सार्वजनिक गर्ने विभागका प्राविधिक निर्देशक रामचन्द्र ढकालले बताए ।
हाल ऐनमा आयातित साधनको दर्ता लगायत विषयमा मात्र स्पष्ट लेखिएको छ । ती सवारी साधनहरूको आयात, दर्ता, बिक्री लगायत प्रक्रियाबारे यातायात तथा सवारी ऐन–२०४९ मा उल्लेख छन् । यसमा नेपालमा बनेका सवारी साधनसम्बन्धी कुनै व्यवस्था प्रष्ट छैन ।
सवारी दर्ता गर्न ऐनले सवारी आयातको प्रज्ञापनपत्र (एलसी) अनिवार्य गरेको छ । सोही व्यवस्थालाई अनिवार्य गरेको हुनाले नेपालमा उत्पादित सवारी दर्ताको लागि समस्या सिर्जना भएको विभागका प्राविधिक निर्देशक ढकाल बताउँछन् । नयाँ कार्यविधिले भने यी विषयलाई समेट्नेछन् ।