अझै खुलेन तातोपानी नाका

काठमाडौं /  चीन जोड्ने चर्चित उत्तरी नाकामध्ये केरुङ (रसुवागढी) बाट पुस १३ यता निर्यात भइरहँदा तातोपानीमा आंशिक आयात हुँदै आएको सात वर्ष पुगिसकेको छ । उता केरुङसहित अन्य नाकाको चमक फर्किरहँदा पुरानो व्यापारिक केन्द्र र कैलाश मानसरोवर जाने मुख्य मार्ग तातोपानीलाई चीनले प्राथमिकतामा राखेको छैन । अन्यमा झैं भौतिक संरचनामा पूरै तयार तातोपानीमा अत्याधुनिक भव्य सुक्खा बन्दरगाह भवन र ऐतिहासिक मितेरी पुल सुनसान छन् ।
भूकम्प र बाढीपहिरोले ध्वस्त कोदारी राजमार्ग २६ किमि अहिले सीआरसीसीले पहिरो खण्डलाई मर्मतसम्भार गर्दै छ । भौतिक संरचनामा अन्यत्रझैं सहज वातावरण भए पनि चीनले तातोपानीबाट निर्यात र सर्वसाधारणका लागि नखुलाउँदा व्यवसायी चिन्तित छन् ।

काठमाडौंबाट चीनको मुख्य व्यापारिक क्षेत्र खासा १ सय २४ किमि र रसुवागढी नाकाबाट १ सय ६४ किमि दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किमि कम दूरी पर्छ । चीनको जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री भए पनि खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिन लाग्छ । उत्तरी नाकाबाट आयात गर्दा ढुवानी भाडा कम पर्ने र सामान छोटो समयमा भित्रने भएकाले व्यवसायी सकभर दक्षिण जान चाहँदैनन् । तर भूकम्प, बाढीपहिरो र कोभिडको अनेक बहानामा चीनले स्थल नाका हुँदै आएको सामग्री आयातनिर्यात व्यापारलाई पूरै निरुत्साहित गरेको आम व्यापारीको गुनासो छ ।

तातोपानीमा आयात बढ्ला र लगानी उठाउँला भनेर बसेका क्यारिङ व्यापारी निराश भएसँगै कामदार र गाडी चालक पेसा छाडेर धमाधम घर फर्किन थालेका छन् । ताल फुट्ने जोखिम र कोभिडका अनेक कारण देखाएर सरकारको गैरजिम्मेवारीपनकै कारण चीन पक्षले एकतर्फी आयात मात्रै खुलाएको व्यवसायीको तर्क छ ।

चिनियाँ इलाका बजार क्षेत्रमा तीन वर्षदेखि जारी ल्हासा लकडाउन हटाइएपछि अहिले ल्हासा प्रशासनले ल्हासा मालवाहक रुट सुरक्षा प्रोटोकल अनिवार्य गरेको छैन । त्यतिबेला कोभिडको पहिलो लहरमा बन्द नाका चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामग्री राजधानी पु¥याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’ सहित खुलाइएको थियो ।
चीनले मालवाहक सवारी रुटमा सुरक्षा प्रोटोकल अनिवार्य नगरेर आउजाउ खुकुलो बनाएसँगै निर्यात खुलाउने सम्भावना रहे पनि देखिने प्रगति नरहेको नेपालका लागि चीनको ल्हासास्थित महावाणिज्यदूतले जनाएका छन् । ल्हासा प्रशासनसहित उच्च चिनियाँ अधिकारीसँग बसेर नाकालाई पुरानै अवस्थामा फर्काउन बैठक र छलफलका लागि प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । बाहिर नाका खुल्नेबारे हल्ला व्यापक चले पनि औपचारिक रूपमा माथिल्लो तहबाट सकारात्मक रहेको भन्नेबाहेक केही नआएको उनको भनाइ छ ।

केरुङमा आयातनिर्यात खुलेपछि तातोपानीमा त्यही हुने अनुमानमा झोलेपोकेदेखि ठूला व्यापारी, कन्टेनरदेखि होटल व्यवसायीसम्म आसमा छन् । नाका खुल्ने र व्यापार हुने उत्साहमा लिपिङ पुल छेउका होटल, पसल थापेर बसिरहेका व्यवसायी नाकामा कुनै चहलपहल नभएपछि निराश बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज