काठमाडौं / काठमाडौंमा एक समारोहका बीच स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले २२ औं वार्षिकोत्सव मनाएको छ । वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको छ । यस पटक पनि विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सब आयोजना गरेको हो ।
समारोहको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सदस्य तथा विपन्न परिवारको आर्थिक सामाजिक अवस्थालाई सुधार गरेका प्रसस्त उदाहरण हुँदा हुँदै पनि हाल लघुवित्त सम्बन्धमा देखिएका गैर कानूनी र नीति विपरितका गरिविधिले समस्याको समाधान नहुने र सदस्यलाई अझै अप्ठ्यारोमा पारेको बताइन । सो अवसरमा बोल्दै मन्त्री चौधरीले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रुपमा सदस्यलाई लघुवित्त सेवा पु¥याएकोमा शुभकामना दिइन ।
लघुवित्त संस्थाहरुको संख्या बृद्धिसंगै अस्वस्थ प्रतिस्पर्धा बृद्धि भएकोले गुणस्तरीय सेवा प्रवाहका लागि लघुवित्त संस्थाहरु २० देखि २५ वटामा ल्याई गुणस्तरीय र दीगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न मन्त्री चौधरीको सुझाव थियो ।
समारोहमा सांसद तथा लघुवित्त अभियन्ता लिलानाथ श्रेष्ठले गरिवी न्यूनिकरणमा लघुवित्तको प्रभावकारी भूमिका रहेको बताए ।
नेपाल राष्ट्र बैंकका संचालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मूलुकको गरिवि निवारणमा पुर्याएको योगदान नजरअन्दाज गर्न नमिल्ने र महिला सशक्तिकरणमा उत्कृष्ट प्ल्याटफर्म लघुवित्तले प्रदान गरेको बताए । उनले लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छवीमा ठूलो असर पुगेको र यसलाई समयमै सुधार गर्नु आवश्यक रहेको बताए ।
संचालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गले लघुवित्त गरिवी निवारणको उपयुक्त अस्त्र भएकोले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताउँदै लघुवित्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध सदस्यहरुको आयस्तरमा बृद्धि गर्न उनीहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिमको आवश्यकता रहेकोले सोही अनुरुप लघुउद्यमशीलता विकासका लागि वित्तीय संस्था अगाडी बढ्ने बताइन ।
प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह बिष्टले वित्तीय संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका १४५ शाखा कार्यालयबाट २ लाख ६३ हजार भन्दा बढि घरपरिवारलाई प्रत्यक्ष सेवा पु¥याएको जानकारि दिए ।