काठमाडौँ / मुलुकका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कुल ३० अर्ब १३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ११.८८ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा यी २० बैंकले कुल २६ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ कमाएका थिए ।
यो कर छुट्याएपछिको नाफा हो । बैंकहरुको नाफा रकम बढेको देखिए पनि बैंकहरुको प्रतिफल लगानीकर्ताका लागि अझै न्यून रहेको देखिन्छ ।
नाफा वृद्धिदरका आधारमा एभरेस्ट बैंक सबैभन्दा अगाडि छ । सो बैंकको नाफा एक वर्षको अवधिमा ८९ प्रतिशतले बढेको छ । नबिल, एनआईसी एसिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य र एनएमबी बैंक क्रमशः नाफा कमाउने बैंकको सूचीमा अगाडि छन् ।
सार्वजनिक विबरण अनुसार कृषि विकास बैंक भने १२ करोड ८९ लाख नोक्सानमा छ भने कुमारी र इन्भेस्टमेन्ट बैंकले आफ्नो वित्तीय विवरण अझै सार्वजनिक गरेका छैनन् ।