काठमाडौँ — आर्थिक गतिविधिमा आएको मन्दी लगायत कारणले तोकिएको समयमा साँवा, ब्याज भुक्तानी हुन नसक्दा एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा करिब साढे ५४ अर्ब रुपैयाँले बढेको छ ।
मुलुक भित्र हाल २२ वाणिज्य बैंक सञ्चालनमा रहेका छन् । ती बैंकहरुद्धारा प्रकाशित चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार पुस महिनासम्ममा ती बैंकको कुल खराब कर्जा करिब १ खर्ब रुपैयाँ पुगेको छ । यो गत पुससम्म २२ वाणिज्य बैंकले प्रवाह गरेको कुल कर्जा तथा सापटीको २.३५ प्रतिशत हो ।
गत आर्थिक वर्षको पुससम्म २२ वाणिज्य बैंकको कुल खराब कर्जा ४५ अर्ब ८२ करोड रुपैयाँ थियो । यो सोही अवधिमा ती बैंकले प्रवाह गरेको कुल कर्जाको १.११ प्रतिशत हो । यसरी गत आर्थिक वर्षको पुसदेखि चालु आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको खराब कर्जा १.२४ प्रतिशत बिन्दुले बढी हो । चालु आर्थिक वर्षको पुससम्म वाणिज्य बैंकहरूको कुल कर्जा तथा सापटी ४२ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुससम्म यस्तो कर्जा ४१ खर्ब २८ अर्ब रुपैयाँ थियो ।