सिन्धुपाल्चोक/ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेको बताएका छन् ।
शुक्रबार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन ।
जनवादी गणतन्त्र चीनको सहयोगमा निर्माण गरिएको विद्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या छ। मैले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको छु। मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको छु। “निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको बताउँदै प्रधानमन्त्री दाहालले बैंक र व्यवसायीबिच सहकार्यको स्थिति सिर्जना भएको बताए। यसले अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन्। अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ, प्रधानमन्त्री दाहालले भने ।
कार्यक्रममा प्रधानमन्त्रीले विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको बताउँदै भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको प्रधानमन्त्री दाहालले बताए ।