काठमाडौँ /राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा र निक्षेपको ब्याजदर घट्दो क्रममा रहेको बताउँदै केही महिनामै ग्राहकले त्यसको अनुभव गर्न पाउने बताएका छन् ।
शनिबार भैरहवाको लुम्बिनीमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रमको बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरुमा देखिएको सुधार, तरलताको अवस्थामा सुधार र मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकहरूको कर्जा निक्षेपबीचको अन्तर घटेर ४ प्रतिशतमा झर्नु जस्ता कारणले ब्याजदर घट्ने गभर्नर अधिकारीको भनाइ थियो ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा स्थिर ब्याजदरको लिने कि परिवर्तनशील ब्याजदरको भन्ने छनौटको अवसर भए पनि ग्राहकले त्यो नगरिदिँदा बैंकले धेरै ब्याजदर बढाए भन्ने गुनासो आउने गरेको उनले बताए । ‘ग्राहकसँग छनौटको पूर्ण अवसर छ । तर, उनीहरूले त्यो विचार नगरी एक शीर्षकमा लिएको कर्जा अर्को क्षेत्रमा लगानी गरिरहेका छन्,’ उनले भने, ‘ग्राहकका यस्ता गतिविधिले समस्या निम्त्याएको हो । यो प्रवृति रोक्न राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको हो ।’