काठमाडौँ / काठमाडौं उपत्यकाका विभिन्न ६ ठाउँमा बर्डफ्लु देखिएको छ । पशु सेवा विभागका अनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १५ देखि २० गतेको बीचमा उपत्यकाका ६ ठाउँमा बर्डफ्लु पुष्टि भएको छ ।
विभागका अनुसार ललितपुर–१५ स्थित खुमलटार, भक्तपुर–१० चाँगुनारायण, नागार्जुन–६ रामकोट, तारकेश्वर–१ र ७ र काठमाडौं महानगरपालिका–१० शंखमूलमा बर्डफ्लु भेटिएको हो ।
बर्डफ्लु नियमावलीअन्तर्गत प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रणमा लिइसकेको विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए । विभागले ती ६ ठाउँबाट ५ सय वटा हाँस, ५ हजार ५ सय ३१ वटा व्यावसायिक लेयर्स, ७ सय ६२ वटा स्थानीय कुखुरा नष्ट गरिएको छ । त्यस्तै, १० हजार २ सय ४५ वटा अण्डा, ५ सय ५० केजी खाना सुरक्षित तबरले नष्ट गरेको छ ।