काठमाडौं / विश्वव्यापी फैलिएको कोरोना भाइरसले थला पारेको नेपालको अर्थतन्त्र वित्तीय क्षेत्रका भाइरसहरुले थप तहसनहस बनाइरहेका छन् । राजनीतिक अस्थिरताले गर्दा अर्थतन्त्रलाई सही दिशा दिनेतर्फ कुनै सरकारको ध्यान जान सकेन । व्यक्तिगत र दलगत स्वार्थ लिप्सामा अल्झिएका नेताहरुले देशमा गम्भीर बन्दै गरेको आर्थिक समस्या सम्बोधन गर्नुभन्दा कुर्सीको जोडघटाउमा तल्लीन बन्न पुगे । बजारमा तरलताको अभाव लामो समयसम्म कायम रहेका कारण शेयरबजार पूरै ध्वस्त बन्न पुगेर शेयर मार्केटका हजारौं लगानीकर्ताहरुले अर्बौंको नोक्सानी झेल्नु प¥यो । घरजग्गा कारोबार ठप्प जस्तै बन्न पुगेको छ । घरजग्गा, शेयर मार्केटको सोझो असर व्यापार व्यवसायमा परेर थुप्रै बिजनेस कम्प्लेक्सहरु नचल्ने अवस्थामा पुगेका छन् भने व्यापारीहरु सटर बन्द गरेर आन्दोलनमा उत्रिरहेका छन् ।
राष्ट्रबैंकले जथाभावी स्वीकृत दिएर रिटायर बैंक कर्मचारीहरुले खोलेका लघु वित्तहरुले गरिब जनताको घरबास उठाएको भन्दै लघुवित्तका कर्मचारीहरुलाई गाउँघरदेखि लखेटेका समाचार दिनहुँ आउन थालेका छन् । ठुलठुला सहकारीले जनताको अर्बौं डिपोजिट फिर्ता गर्न नसकेर सञ्चालक फरार बनेका खबरले सानातिना सहकारीहरुको समेत ताला लाग्ने अवस्था सिर्जना भइरहेको छ । बैंकको ऋण तिर्न नसकेर एकजना व्यापारीले संसद भवनको मूल गेटमा आत्मदाह गरेर सरकारको ध्यानाकर्षण गराउँदा समेत सरकार गम्भीर बनेको छैन । मिटर ब्याजीको आतंकले तराई मधेसका सयौं गाउँले पीडित भएका र उल्टै पीडितले नै थुनिनु परेको समाचार सार्वजनिक भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लघुवित्त, सहकारी र बैंकहरुले निम्न वर्गका जनता र व्यवसायीहरुलाई आतंकित बनाएको भन्दै देशव्यापी आन्दोलनको शंखघोष गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रलाई मेची पुलमा दियो सल्काउन लगाएर सुरु गरेको आन्दोलनले वित्तीय क्षेत्रमा थप तनाव र आतंकको अवस्था उत्पन्न भएको छ । आन्दोलनकारीहरुले गाउँघरमा ऋण असुलीका लागि जाने कर्मचारीहरुलाई लखेट्ने कालोमोसो दल्ने गर्न थालेपछि केही बैंकहरुले १।२ प्रतिशत ब्याज घटाएको सूचना समेत सार्वजनिक गर्न थालेका छन् । गृह प्रशासनले वित्तीय संस्थाहरुको सुरक्षामा चासो देखाए तापनि नेपाल राष्ट्र बैंक तथा सरकारको अर्थमन्त्रालयले वित्तीय क्षेत्रका सरोकार वालाहरुसँग समस्या समाधानका लागि कुनै पहल गरेको पाइँदैन ।
मुलुकमा यति ठुलो वित्तीय संकट आउँदा र अराजकता बढ्दै जाँदा पनि सरकार र राष्ट्र बैंकले ठोस पहल नगर्नु आफैंमा गम्भीर आश्चर्यको विषय बनेको छ । विकास निर्माणको कामले समेत गति लिन सकेको छैन । सरकारको विकास बजेट खर्च गर्ने क्षमतामा बर्सेनि ह्रास आइरहेको छ । नयाँ रोजगारी सिर्जना शून्य अवस्थामा रहेको छ भने भएका औद्योगिक, व्यावसायिक प्रतिष्ठानहरु ताला लाग्ने अवस्थामा पुगेकाले बेरोजगारी समस्या थप गम्भीर बन्दै गएको छ । समग्र अर्थतन्त्रको अवस्था जोखिमपूर्ण बनेको भए तापनि सरिकार कानमा तेल हालेर सुनेकै कारण दुर्गा प्रसाईंजस्ता व्यवसायीको आन्दोलनले दिनहुँ चर्चा पाइरहेको छ ।