काठमाडौं / पछिल्लो समय चौथर्फी मुलुकको आर्थिक सूचक कमजोर भइरहेसँगै चालू आर्थिक वर्ष २०७९/८० को बितेका आठ महिनाको अवधिमा सरकारको बजेट घाटा चुलिएर १ खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ । गत फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोडबराबर बजेट खर्च गर्दा राजस्व संकलन भने जम्मा ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख रुपैयाँ मात्र छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका आठ महिना गत फागुन मसान्तसम्मको राजस्व संकलन र बजेट खर्च विवरणअनुसार यस्तो अवस्था देखिएको हो । यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । समीक्षा अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४२ दशमलव ७ प्रतिशत रहेको छ । बजेट खर्च भने जम्मा ४३ दशमलव ४४ प्रतिशत मात्र छ ।
चालू आवका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । तर, यसअघि पनि लक्ष्यअनुसार राजस्व नउठेको भन्दै अर्धवार्षिक समीक्षामार्फत सरकारले चालू आवका लागि विनियोजित बजेटको आकार १४ प्रतिशत (२ खर्ब ४४ अर्ब रुपैयाँ)ले घटाएर कुल १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँमा झारेको छ ।
चालू आव सुरु हुनेबेलामा विनियोजित बजेटको तुलनामा बितेका आठ महिनाको बजेट खर्च ४३ दशमलब ४४ प्रतिशत मात्रै छ । गत फागुन मसान्तसम्म सरकारले कुल ७ खर्ब ७९ अर्ब २३ करोड रुपैयाँ बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । सो अवधिमा सरकारको चालू खर्च ५१ दशमलव ४६, पुँजीगत खर्च २२ दशमलव १५ प्रतिशत र वित्तीय व्यवस्थातर्फको खर्च ३७ दशमलव ४१ प्रतिशत रहेको छ । चालूगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँबराबर वार्षिक विनियोजन रहेकोमा हालसम्म ६ खर्ब ८ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ देखिएको छ ।
त्यस्तै पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ वार्षिक विनियोजन रहेकोमा अहिलेसम्म २२ दशमलव १५ प्रतिशत (८४ अर्ब २५ करोड ६० लाख रुपैयाँ) मात्र खर्च भएको देखिएको छ । वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन भएकोमा फागुन मसान्तसम्म ८६ अर्ब १२ करोड ९६ लाख रुपैयाँ खर्च भएको छ । महालेखा नियन्त्रकको तथ्यांक हेर्दा आठ महिना अवधिमा पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थातर्फको खर्च बढी देखिएको छ ।
फागुन मसान्तसम्ममा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४२ दशमलव ७ प्रतिशतबराबर मात्र छ । चालू आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख रुपैयाँ मात्र संकलन भएको छ । जसमध्ये आन्तरिक राजस्व संकलन ४१ दशमलव ५३ प्रतिशत (५ खर्ब ८२ अर्ब ७७ लाख १५ हजार रुपैयाँ) रहेको छ । चालू आवका लागि कुल ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ वैदेशिक सहायता लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म ८ दशमलव ६६ प्रतिशत (४ अर्ब ८० करोड २० लाख रुपैयाँ)बराबर मात्र वैदेशिक सहायता भित्रिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षको बितेका आठ महिनाको अवधिमा आन्तरिक राजस्व संकलन पनि लक्ष्यभन्दा निकै कम देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो । यसअघि दोस्रो चौमासिकसम्ममा विभागले ३ खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, यो अवधिमा लक्ष्यको तुलनामा ७९ दशमलव ७८ प्रतिशत (२ खर्ब ८१ अर्ब ९९ करोड ३० लाख रुपैयाँ) मात्र उठेको छ ।
गत आवको सोही अवधिभन्दा चालू आवको सोही अवधिमा राजस्व असुली १ प्रतिशतले न्यून हो । विभागले गत आवको आठ महिनामा २ खर्ब ८५ अर्ब १२ करोड २ लाख रुपैयाँबराबर राजस्व उठाएको थियो । हालसम्म उठेको आन्तरिक राजस्वको अवस्था हेर्दा शिक्षा करबाहेक सबै क्षेत्रमा न्यून असुली भएको देखिन्छ । गत फागुन मसान्तसम्म १ खर्ब ५८ अर्ब २५ करोड ४ लाख रुपैयाँ आयकर उठाउने लक्ष्य राखेको विभागले १ खर्ब १७ अर्ब ७ करोड १९ लाख रुपैयाँ मात्रै असुली गरेको छ । यो अवधिको आयकर लक्ष्यको ७३ दशमलव ९८ प्रतिशत लक्ष्यको तुलनामा आयकर संकलन करिब १६ प्रतिशतले न्यून हो । सो अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) संकलन पनि लक्ष्यभन्दा निकै कम उठेको छ । फागुन मसान्तसम्ममा ८२ अर्ब ४३ करोड ३८ लाख रुपैयाँ भ्याट उठाउने लक्ष्य राखिएकोमा जम्मा ६८ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ मात्र संकलन भएको छ । यो असुली लक्ष्यको ८३ दशमलव ३२ प्रतिशतबराबर हो ।
गत वर्षको सोही अवधिको तुलनामा आयकर संकलन ३ प्रतिशतले न्यून देखिएको छ । गत वर्ष फागुन मसान्तसम्ममा विभागले ७० अर्ब ७५ करोड ८४ लाख रुपैयाँबराबर भ्याट उठाएको थियो । त्यस्तै, अन्तःशुल्क गत वर्षको तुलनामा केही बढेको देखिए पनि यसवर्षको लक्ष्यअनुसार उठेको देखिँदैन । विभागका अनुसार फागुन मसान्तसम्म ७६ अर्ब ८२ करोड ४० लाख रुपैयाँ अन्तःशुल्क लक्ष्य लिइएकोमा ८४.३६ प्रतिशत अर्थात् ६४ अर्ब ८१ करोड ६ लाख रुपैयाँ संकलन भएको छ ।
गत वर्ष फागुनसम्मको तुलनामा यस वर्षको सोही अवधिमा अन्तःशुल्क ४ प्रतिशतले बढेको छ । दोस्रो चौमासिक अवधिमा घरबहाल करतर्फ ७८ दशमलव ८१ प्रतिशत संकलन भएको थियो । फागुन मसान्तसम्मका लागि २ अर्ब १४ करोड ८८ लाख रुपैयाँबराबर घरवहाल कर उठाउने लक्ष्य राखिएकोमा १ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ मात्र उठेको छ । गत वर्षको यही अवधिको तुलनामा घरवहाल कर १० प्रतिशत बिन्दुले घटेको छ । गत वर्ष १ अर्ब ८७ करोड २७ लाख रुपैयाँबराबर उठेको थियो ।
स्वास्थ्य सेवा कर असुली लक्ष्यको ९७ दशमलव ११ प्रतिशत मात्रै देखिन्छ । विभागले फागुन मसान्तसम्ममा ४ अर्ब ८५ करोड रुपैयाँ स्वास्थ्य कर उठाउने लक्ष्य राखेकोमा ४ अर्ब ७१ करोड रुपैयाँबराबर मात्रै संकलन भएको देखिएको हो । सोही अवधिमा शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ । सो अवधिमा १ अर्ब ४२ लाख रुपैयाँ शिक्षा कर उठाउने लक्ष्य राखिएकोमा १ अर्ब ६ करोड ४० लाख रुपैयाँ उठेको छ । यस अवधिमा आयात १८ प्रतिशतले घट्दा राजस्व संकलन २५ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । भन्सार विभागले चालू आवको बितेका आठ महिना गत फागुन मसान्तसम्म ४ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ खर्ब ५० अर्ब ६४ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । यो लक्ष्यको ५७ दशमलब ९ प्रतिशत मात्र हो । गत आवको सोही अवधिमा विभागले ३ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । विभागले चालू आवको बितेका आठ महिनामा गत वर्षभन्दा २५ प्रतिशतले कम राजस्व संकलन गरेको देखिन्छ ।
गत वर्ष आठ महिनामा १३ खर्ब ८ अर्ब रुपैयाँको आयात भएकोमा चालू आर्थिक वर्षको आठ महिनामा १० खर्ब ५७ अर्ब रुपैयाँबराबरको आयात भएको छ । जुन गत वर्षभन्दा १९ प्रतिशतले न्यून हो । आयातभन्दा राजस्व संकलन घट्नेदर बढी हुनु चिन्ताको विषय भएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागका निर्देशक रामप्रसाद मैनालीले चालू आवमा सबैभन्दा धेरै राजस्व संकलन हुने सवारीसाधन, मदिरालगायतका विलासिता भनिएका वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्धले आयातको परिणामभन्दा राजस्व संकलन बढीले घटेको जानकारी दिए । विभागले गत फागुन महिनामा मात्र ५९ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३१ अर्ब ८१ करोड रुपैयाँ मात्र संकलन गर्न सकेको छ । यो लक्ष्यको ५४ प्रतिशत मात्र हो ।
गत फागुन महिनामा सार्वजनिक बिदा धेरै परेकाले लक्ष्यभन्दा कम राजस्व संकलन भएको भन्सार विभागको भनाइ छ । आयातमा लामो समय कायम रहेको प्रतिबन्ध गत पुसमा आएर खुला भएको र माघदेखि प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन हटाएको प्रभाव चैतदेखि देखिने जानकारी गराउँदै विभागका निर्देशक मैनालीले भने, ‘अब आयात बढ्छ भन्नेमा हामी आशावादी छौं, त्यसपछि गत वर्षबराबर राजस्व संकलन हुन सक्छ ।’
गत आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागलाई चालू आवमा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ । विभागलाई गत वर्षभन्दा ३२ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो । चालू आवमा गत आवबराबर (१९ खर्ब २० अर्ब रुपैयाँ)को आयात नहुने भएकाले गत वर्ष बराबर राजस्व संकलन नहुने भन्सार विभागले जनाएको छ ।