काठमाडौं / नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बाह्य क्षेत्रमा केही सुधार देखिए पनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य भने चिन्ताजनक रहेको बताएका छन । विद्यमान आर्थिक अवस्थाबारे छलफल गर्ने उद्देश्यले महासंघ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सम्मिलित प्रतिनिधिमण्डलसंगको छलफलमा गोल्छाले सो कुरा बताएका हुन ।
सार्कमा कतिपय देशको तुलनामा विदेशी मुद्रा संचिति, मुद्रास्फिति, आन्तरिक एवं वाहय ऋणको अनुपातका हिसावले नेपालको अर्थतन्त्र मजवुत देखिएपनि चर्को व्याज दर, तरलता संकट, निर्माण क्षेत्रमा आएको सुस्तता लगायतका इन्डिकेटरका कारण अर्थतन्त्रको स्वास्थ्य चिन्ता रहेको गोल्छाले बताए । अर्थतन्त्र गम्भीर संकटमा हुनुमा विशेष त सरकारको आर्थिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीति बीच तादात्म्यता नहुुनुु भएको उनले बताए ।
कोभिड लगत्तै ओभर हिटेड भएको अर्थतन्त्रको सही विश्लेषण गरेर नीति लिनुु पर्नेमा त्यसमा विचार नगरी अधिक तरलता छोड्दा अहिलेको समस्या आएको अध्यक्ष गोल्छाको भनाइ थियो । अहिलेको संकट समाधान गर्ने हो भने वितरणमुखी कार्यलाई रोकेर विकास खर्च बढाउनु पर्ने भन्दै गोल्छाले भने, ‘यसका लागि कठोर निर्णय लिनैपर्छ, त्यसमा दलहरूको सहयोग अपरीहार्य छ । ’
अध्यक्ष गोल्छाले सहकारी तथा लघुवित्त संस्थाहरुको प्रभावकारी नियमन गर्ने बिषयलाई संसदमा प्रभावकारी ढंगबाट उठाउनुु पर्ने सुुझाव दिए । सहकारी तथा लघुवित्त संस्थाको अनुुगमन नहुंदा पनि अहिलेको समस्या आएको उनको भनाई थियो । मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी आकर्षण हुन नसक्नुमा पुराना ऐन कानून वाधक रहेको गोल्छाले बताए । मुलुकभित्र लगानी, उद्योग व्यवसाय फस्टाउन नसक्नुमा बाधक बनेका ऐन कानूनको पहिचान गरी महासंघले सरकारमा पेश गरेकाले त्यसमा सहयोग गर्न पनि उनले आग्रह गरे ।
महासंघले आगामी दश वर्षको मुलुकको अर्थतन्त्र एक सय अर्व डलर पुरयाउने, अतिरिक्त थप २२ लाख रोजगारी सृजना गर्ने लगायतका उद्देश्यले नेट २०३० सार्वजनिक गरेको र त्यसको कार्यान्वयनका लागि सरकारको समेत प्रतिवद्धता आएकाले यसलाई सफल पार्न स्वतन्त्र पार्टीको पनि सहयोग महत्वपूर्ण हुने धारणा राखे । अध्यक्ष गोल्छाले विधायक र निजी क्षेत्र बीच अर्थतन्त्रका विषयमा निरन्तर छलफल अन्तरक्रिया आवश्यक रहेको परिप्रेक्षमा राष्टिय स्वतन्त्र पार्टीको यो प्रयासको प्रशंसा समेत गरे । उनले बिषयमा आधारित छलफलहरु निरन्तर हुन पनि सल्लाह दिए ।