काठमाडौँ / दुग्ध विकास संस्थान (डीडीसी)ले दही, पनिर, चिज आइसक्रिम लगायतको मूल्य पनि बढाएको छ । दूधको खरिद मूल्य प्रतिलिटर १६ प्रतिशतसम्म बढेपछि, त्यसकै अनुपातमा दही, पनिर, चिज लगायतको मूल्य पनि समायोजन गरेको हो ।
डीडीसीले चैत २ गतेदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको थियो । त्यसलगत्तै डीडीसीले दुग्धजन्य अन्य परिकारको मूल्य पनि बढाएको हो ।
कम्पनीले बढाएको मूल्य अनुसार आधा लिटरको प्याकेट दहीको मूल्य १० रुपैयाँ बढेर ८५ रुपैयाँ पुगेको छ । डब्बाको दही प्रतिलिटर २० रुपैयाँ बढेर १९० पुगेको छ । आधा केजी पनिरको मूल्य प्रतिप्याकेट ७० रुपैयाँ बढेर ५ सय पुगेको छ । कन्चन चिजको मूल्य प्रतिकेजी २२० रुपैयाँ बढाएर १ हजार ६ सय पुर्याइएको छ । याक चिजको मूल्य प्रतिकेजी २२० रुपैयाँ बढाएर १ हजार ८ सय ८० रुपैयाँ पुर्याइएको छ ।
२०० मिलिलिटर बोत्तलमा पाइने स्वादअनुसारको दूध मूल्य १० बढेर ७५ रुपैयाँ पुगेको छ । कम्पनीले आइसक्रिमको मूल्य ६५ रुपैयाँ बढाएर प्रतिबट्टा ४५५ तोकेको छ । घिउको मूल्य भने हाललाई यथावत राखिएको कम्पनीले जनाएको छ । यसअघि डीडीसीले चैत १ गतेदेखि किसानको दूधमा मूल्य बढाएको थियो । चैत २ गतेदेखि उपभोक्ता मूल्य प्याकेटमै प्रतिलिटर ११ रुपैयाँदेखि १६ रुपैयाँसम्म बढाएको थियो ।