निक्षेपको ब्याजदर घटाउने अभियानमा प्रधानमन्त्री

काठमाडौं / ब्याजदर घटाउने अभियानमा प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म लागि परेका छन् । तर यो अभियान कहिले पुरा होला भविष्यकै गर्भमा छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर ब्याजदर, तरलता लगायत मुलुकको समग्र आर्थिक अवस्थाका बारेमा छलफल गरेका छन् । अर्थमन्त्री डा. महतले गभर्नर अधिकारीलाई ब्याजदर एकल अंकमा ल्याउने उपायको खोजी गर्न समेत भनेका छन् । गभर्नरले ब्याजदर घटाउने उपायका बारेमा केही सुझाव समेत दिएका छन् । ब्याजदर बाहेक अन्य बिषयमा पनि अर्थमन्त्री र गभर्नरबीच छलफल भएको थियो ।अर्थमन्त्रीसँगको छलफलमा मुलुकको अर्थतन्त्रको अहिलेको अवस्थामा बिफ्रिङ भएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाश श्रेष्ठले बताए । अर्थमन्त्री डा. महतले यसअघि उद्योगी व्यवसायी, शेयर लगानीकर्तालगायतसँग पनि ब्याजदर, तरलतालगायतका बिषयमा छलफल गरेका थिए । अर्थमन्त्री डा. महतले मात्रै होइन्, प्रधानमन्त्री दाहालले पनि ब्याजदरका बिषयमा चासो राख्दै आएका छन् ।

प्रधानमन्त्री दाहालले बैंकको ब्याजदर एकल अंकमा ल्याउन पहल भइरहेको सार्वजनिक समारोहमा नै बताउँदै आएका छन्।
केही समयअघि मिटर ब्याजपीडितहरूले राजधानीमा आन्दोलन चर्काएका थिए । त्यसबेला पनि प्रधानमन्त्रीले ब्याजदरका बिषयमा निजी क्षेत्रसँग छलफल गरेका थिए । ब्याजदरका बिषयमा प्रधानमन्त्री, अर्थमन्त्रीले मात्र होइन्, निजी क्षेत्रले पनि त्यतिकै चासो देखाउँदै आएका छन्् । उद्योगी व्यवसायीले ‘ब्याज वृद्धिले बाच्नै गाह्रो भयो’ भन्दै आएका छन् । उनीहरूले फागुनको अन्तिममा चरणबद्ध रूपमा सडक आन्दोलन नै गरेका थिए ।

उद्योगी व्यवसायीहरूले अर्थतन्त्र संकटपूर्ण रहेको अवस्थामा बैंकहरूले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको,कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंक विरुद्ध सडक संर्घषमा उत्रिन पुगेका थिए । व्यवसायीहरूले अर्थतन्त्रमा आएका समस्याको कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती र बजारको मागमा कमी भएको अवस्थामा समेत बैंकले चर्को व्याजदर लिएको बताउँदै आएका छन् ।

ब्याजदर बढेका कारण अर्थतन्त्र चौपट भएपछि चैत महिनाको ब्याज र किस्ता तिर्न समस्या परेको व्यवसायीले गुनासो गर्दै आएका छन् । व्यवसायीहरूले बैंकको ब्याज वृद्धिले भएकाले ब्याजदरमा स्थिरता कायम गर्नु पर्ने, चालु पूँजीकर्जा सम्बन्धी मार्गदर्शन स्थगन गर्नु पर्ने, उच्च सेवा शुल्क बन्द गर्नु पर्ने जस्ता माग राख्खै आएका छन् । ८–९ प्रतिशतमा पाइने ब्याजदर अहिले १५–१६ प्रतिशत पुगेको छ । यस्तो ब्याजदर पुनः एकल अंकमा ल्याउनु पर्ने सुझाव निजी क्षेत्रले नव नियुक्त अर्थमन्त्री डा. महतलाई दिँदै आएका छन् ।

बैंकहरूले १ चैत गतेदेखि लागु हुने गरी मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका थिए । फागुनमा बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गर्दै आएका छन् । बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार सोही ब्याजदर दिँदै आएका छन् ।

निक्षेपको ब्याजदर घटेसँगै वैशाखमा बैंकहरूको कर्जाको ब्याजदर पनि घट्ने छ । चैतमा निक्षेपको ब्याजदर घटाएका बैंकहरूले बैशाखमा के गर्लान ? भन्ने छ । प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नरलगायतले ब्याजदर घटाउनका लागि नीतिगत रूपमा सुधार गर्ने पक्षमा उभिएकाले बैंकको ब्याजदर घटन सक्ने देखिएको छ । तर, अहिलेसम्म बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूको छाता संस्था नेपाल बैंकर्स सघंले भने बैशाखमा ब्याजदर घटाउने, स्थिर राख्ने वा बढाउने भन्ने बारेमा निर्णय भने गरिसकेको छैन् ।
अर्कोतिर नेपाल राष्ट्र बैंकले बैंकहरूलाई चैत्र मसान्तसम्म स्प्रेड रेट घटाएर ४.२ प्रतिशतमा झार्न निर्देशन दिएको छ । अहिले बैंकहरूले स्प्रेड दर पनि समायोजन गरेर ४.२ प्रतिशतमा ल्याएका छन् । असारसम्म ४ प्रतिशतमा ल्याउनुपर्ने दबाब छ । जसले कर्जाको ब्याजदर घटाउन थप मद्दत मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज