समग्र पर्यटन विकासका लागि सरकार निजी क्षेत्र र नागरिक स्तरबाट एकिकृत प्रयास आवश्यक

काठमाडौं/ देशको समग्र पर्यटन विकासका लागि सरकार निजी क्षेत्र र नागरिक स्तरबाट समेत एकिकृत प्रयास आवश्यक भएको पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायीहरुले जोड दिएका छन् ।

नेपाल पर्यटन बोर्डले शुक्रवार काठमाण्डौमा आयोजना गरेको ‘राष्ट्रिय समृद्धिमा पर्यटनको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै विज्ञहरुले यस्तो धारणा राखेका हुन ।

कार्यक्रममा बोल्दै मुख्य सचिव शङ्करदास बैरागीले पर्यटनका लागि कसैको एकल प्रयास भन्दा पनि सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको बताए । उनले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउने रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले वायुसेवा निगमको व्यवस्थापकीय सुधार गरी अन्तर्राष्ट्रिय गन्तव्य बजार विस्तारका लागि प्रक्रिया अघि बढेको बताए । उनले अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले बोर्डले गरिरहेका कार्यबारे प्रस्तुतिकरण गर्दै पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकलाई आकर्षण गर्न अन्तरराष्ट्रिय बजार रणनीति आवश्यक रहेको बताए । उनले कोभिडपछि नेपालको पर्यटन लयमा फर्किदै गएको समेत जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज