काठमाडौँ / चालु आर्थिक वर्ष चैत मसान्तसम्म मुलुकको व्यापार घाटा अघिल्लो आबको तुलनामा २ खर्ब २३ अर्बले घटेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधि र चालु आर्थिक वर्षको मुलुकको कुल व्यापार घाटामा १७ प्रतिशतले कमी आएको हो ।
विभागका अनुसार चालु आवको साउनदेखि चैतसम्मको अवधिमा मुलुकको व्यपारघाटा १० खर्ब ८३ अर्ब छ । भने गत आबको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ बराबर पुगेको थियो ।
विभागले अघिल्लो वर्षको तुलनामा आयात१८ प्रतिशतले घटेकाले मुलुकको व्यापार घाटामा कमि आएको जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको साउनदेखि चैतसम्म कुल १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । चालु अबको सोही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँको वस्तु आयात भएको छ ।
सरकारले विदेशी मुद्रा सञ्चिति घटेका कारण गाडी, महँगा मोटरसाइकल तथा स्कुटर, स्मार्टफोन, मदिरा लगायत वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । केही समय लगाइएको यो प्रतिबन्ध पुसदेखि खुला गरिएको थियो । यसले मुलुकको कुल आयातमा प्रभाव पारेको उल्लेख गरिएको छ ।
विभागको तथ्यांक अनुसार मुलुकको आयातसँगै निर्यातमा पनि कमि आएको छ । चालु आर्थिक वर्षको साउन–चैतसम्म निर्यात २६ प्रतिशतले घटेको छ । गत आबको सोही अवधिमा १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यो वर्षको सोही अवधिमा १ खर्ब १८ अर्बको मात्रै निर्यात भएको छ ।