काठमाडौँ / निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी सरकारले कुनै प्रकारको कानुन नबनाउने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँग शुक्रबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उद्योग बाणिज्य संघमा निर्वाचित नयाँ कार्यसमितिले प्रधानमन्त्रीसँग भेट गर्दै निजी क्षेत्रका विभिन्न सबालमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । व्यवसायीहरुसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा संकट आएका बेला निजी क्षेत्र संकुचित हुने वा नकारात्मक प्रभाव पर्ने गरी कुनै पनि कानुन नबनाउने बताए । उनले भने, नेपालको संविधानले राज्यको तर्फबाट निजी क्षेत्र र व्यवसायलाई प्रवर्द्धन गर्ने व्यवस्था गरेको छ । यसमा हामी प्रतिबद्ध छौं ।
भेटमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढाएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएको संकट अझै कायमै रहेको बताउँदै यस्तो अफ्ठायारो समयमा सरकार र निजी क्षेत्रबीच बलियो सहकार्यको आवश्यकता रहेको औल्याए । उनले भने सरकारर निजी क्षेत्रले एक–अर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती सामना गर्न सकिन्छ । त्यसैले निजी क्षेत्रलाई नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु । भेटको क्रममा प्रधानमन्त्रीले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिँदै महासंघमा कुशल नेतृत्व आएको भन्दै खुसि व्यक्त गरे ।