काठमाडौं / चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.१६ प्रतिशत पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ । तेस्रो त्रैमासिकसम्मको यथार्थ गणना तथा चौथो त्रैमासिकको अनुमानित आर्थिक क्रियाकलापका आधारमा कार्यालयले मंगलबार सो प्रक्षेपण गरेको हो । निर्माण र खानी क्षेत्रमा आएको उल्लेख्य गिरावटका कारण समग्र आर्थिक वृद्धिदर प्रभावित हुने कार्यालयले आकलन छ । यो अनुमानित वृद्धिदर बजेटको लक्ष्यभन्दा निकै कम रहेको छ । सरकारले चालू वर्षको बजेटमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । सरकारले लिएको लक्ष्य पुरा हुन नसक्ने भन्दै लक्ष्य भन्दा कम हुने पुर्व अर्थमन्त्री बिष्णु पौडेलले बताएका थिए । यो सँगै वश्व बैंक र एसियाली विकास बैंकले ४.१ प्रतिशतको वृद्धि हासिल हुने प्रक्षेपण यो भन्दा अघि गरिसकेको छ ।
गत वर्ष आर्थिक वृद्धिदर ५.६ प्रतिशत थियो । उक्त समयमा कार्यालयले ५.४ प्रतिशत वृद्धि हासिल हुने अनुमान गरेको थियो । कार्यालयको अनुसार चालू वर्षको पहिलो त्रैमासिकमा १.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर दोस्रो त्रैमासिकमा १.१ प्रतिशत ऋणात्मक थियो । वर्षको सुरूका महिनामा लगाइएको आयात प्रतिबन्धका साथै माग र आपूर्तिको कमीले आर्थिक वृद्धिमा प्रभाव देखिएको आकलन गरिएको छ ।
विभागका अनुसार नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ । यसमा कृषि क्षेत्रले २४.१६ प्रतिशत योगदान गरेको छ । चालू वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रले २४.६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ । धान लगायतका बर्षे वालीको उत्पादन बढे पनि हिउँदे बाली, दूध, अन्डा र मासु उत्पादनमा आएको कमीले प्राथमिक क्षेत्रमा उल्लेखनीय वृद्धि हुन नसकेको पनि कार्यालयले जनाएको छ ।
चालू वर्षको कुल गार्हस्थ्य उत्पादनमा उद्योग, विद्युत तथा ग्याँस, पानीको आपूर्ति र निर्माणले १२.९ प्रतिशत योगदान दिने आकलन गरिएको छ । सेवा क्षेत्रको योगदान भने ६२.४ प्रतिशत रहने कार्यालयले जनाएको हो । यसअन्तर्गत थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, घरजग्गा कारोबार, पेसागत, प्रशासिनक तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरूलाई समावेश गरिएको छ ।
तथ्यांक कार्यालयको अनुसार नेपालीको औसत आम्दानी १४१० अमेरिकी डलर पुगेको छ । एकवर्षमा ३ अमेरिकी डलरले राष्ट्रिय आयको आधारमा आम्दानी बढेको हो । जीडीपीको आधारले हेर्दा भने आम्दानी स्थिर छ ।
अहिले उपभोक्ता मूल्यवृद्धि ७ प्रतिशतभन्दा बढी छ । गत वर्ष १०० रुपैयाँ पर्ने सामानको मूल्य अहिले १ सय ७ रुपैयाँ पुगेको छ । तर, आम्दानी भने गत वर्षको जस्तै स्थिर देखिएको छ । यसले बढेको मूल्यवृद्धिमा उपभोक्तालाई आम्दानी नबढ्दा खर्च चलाउनसमेत मुस्किल पर्ने देखिएको छ ।
कार्यालयको तथ्यांकमा अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रहरू सबैको उत्पादन बढ्न नसकेको देखाइएको छ । उद्योगको भने चालु आर्थिक वर्षमा वृद्धिदर नै ऋणात्मक देखिएको छ । जीडीपीमा उद्योगले ५.३२ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । वनस्पति, तोरी, सोयाबिन तेलको उत्पादन तथा फलाम तथा स्टिल उत्पादनमा आएको कमीले उद्योग क्षेत्रमा गत वर्षको तुलनामा कुल मूल्य अभिवृद्धि २.०४ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको छ ।यस्तो अवस्थामा सरकारले खर्च बढाउनुपर्ने र विदेशी र स्वदेशी लगानी बढाउनका लागि नीतिगत सुधारको काम गर्नुपर्ने बिज्ञहरुले बताएका छन् । मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने काम भएको उपभोग घटे पनि ब्याज खर्च बढ्दा आम्दानी घटेको छ ।