काठमाडौ / सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य राखे पनि मूल्यवृद्धिले उक्त सीमा नाघेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत पुगेको देखाएपछि मूल्यवृद्धिले सीमा नाघेको हो ।
देशका अरु स्थानको तुलनामा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै महँगी बढेको पनि सो प्रतिवेदनले भनेको छ । नौ महिनामा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै आठ दशमलव ५७ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । यो अवधिमा तराई क्षेत्रमा सात दशमलव ६८, पहाडमा सात दशमलव एक र हिमालमा सात दशमलव ४७ प्रतिशत मूल्यवृद्धि रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा काठमाडौँ उपत्यकामा ६ दशमलव २५ प्रतिशत मूल्यवृद्धि थियो । त्यस्तै, तराईमा सात दशमलव ६१ प्रतिशत, पहाडमा सात दशमलव ७९ प्रतिशत र हिमालमा आठ दशमलव २५ प्रतिशत मुद्रास्फीति थियो ।अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २८ प्रतिशत बराबर थियो । यो अवधिमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि छ दशमलव ९३ प्रतिशत र गैर–खाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि आठ दशमलव ४२ प्रतिशत रहेको छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १४ दशमलव ६८ प्रतिशतले बढेको छ । त्यस्तै, मरमसलाको १४ दशमलव ६७, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशतले बढेको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १० दशमलव ३९ प्रतिशतले बढेको छ । घरायसी उपयोगका वस्तुमा नौ दशमलव ५४, मनोरञ्जन तथा संस्कृतिमा आठ दशमलव ८१, फर्निसिङ तथा घरायसी उपकरणमा आठ दशमलव ७४ र शिक्षा क्षेत्रमा आठ दशमलव ६७ प्रतिशतको मूल्यवृद्धि देखिएको छ ।
गत चैत महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति भने पाँच दमलव ५९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४ दशमलव ४२ प्रतिशत थियो । यसैगरी चैतसम्ममा चालु आर्थिक वर्षकै सबभन्दा धेरै रेमिटेन्स भित्रिएको छ । चैतमा मात्र एक खर्ब नौ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको सोही प्रतिवेदनेमा उल्लेख छ । साउनदेखि चैतसम्ममा कुल नौ खर्ब तीन अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ । यो अवधिमा ६ लाख ५ हजार नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो ३१ प्रतिशतले धेरै हो ।
विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स बढेको कारण शोधनान्तर पनि उल्लेख्य बचतमा गएको छ । तर, आयात भने बढेको छ । देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर शोधनान्तर हो । शोधनान्तर बचतमा हुँदा बाह्य क्षेत्र मजबुत बन्छ । मासिक आयात पछिल्लो नौ महिनाकै उच्च छ । चैतमा मात्रै एक खर्ब ४३ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको हो । चालु आर्थिक वर्षमा औसत एक खर्ब ३३ अर्ब रूपैयाँको मासिक आयात हुने गरेको छ । केन्द्रीय बैंकको अनुसार चैतसम्म १२ खर्बको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म १९ खर्ब २० अर्बको आयात भएको थियो । अघिल्लो बर्षको चैतको तुलनामा ३२ प्रतिशत आयात बढेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा चालु खाता घाटा बढेको छ । भदौमा ३७ अर्ब १८ करोड पुगेको घाटा चैतमा ५१ अर्ब ८२ करोड पुगेको छ ।
राष्ट्र बैंकले चैतसम्मको आर्थिक तथ्यांक सार्वजनिक गर्दै शोधनान्तर एक खर्ब ८० अर्ब १७ करोड रूपैयाँ बचतमा पुगेको जनाएको हो। भदौसम्म शोधनान्तर २३ अर्ब ६८ करोड रूपैयाँ घाटामा थियो। र पोहोर चैतमा पनि शोधनान्तर २ खर्ब ६८ अर्ब रूपैयाँ घाटामा थियो । वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएसँगै रेमिटयान्स पठाउने दरमा पनि वृद्धि भइरहेको केन्द्रीय बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा रेमिट्यान्स भित्रिने दर घटेको थियो भने आयात बढेको कारण विदेशी मुद्रा सञ्चितिमा दबाब परेको थियो ।
२०७८ चैतदेखि २०७९ पुससम्म विभिन्न वस्तुको आयातमा लगाइएको प्रतिबन्ध, आयातको क्रममा राख्नुपर्ने अनिवार्य नगद मौज्दात लगायत व्यवस्थाले विदेशी मुद्रा सञ्चितिमा सुधार आएको अनुमान गरिएको थियो । अहिले विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब रूपैयाँ पुगेको छ । उक्त सञ्चितिले ९ महिना १२ दिनको आयात धान्न सक्ने पनि सोही प्रतिवेदनले भनेको छ ।
पछिल्लो समय रेमिटेन्ससँगै अन्य विदेशी मुद्राको आम्दानीमा पनि सुधार भैरहेको छ । यो अवधिमा नेपाल भित्रिने पर्यटकबाट हुने आम्दानीमा ९४ प्रतिशतले वृद्धि भएको छ । यस्तो आम्दानी ४४ अर्ब १६ करोड रूपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संख्या लगायतले यो नौ महिनामा अवधिमा ३७ अर्ब १९ करोड रूपैयाँ ऋण ल्याएका छन्। यसमा अघिल्लो वर्षको यही अवधिको तुलनामा ११० प्रतिशतले वृद्धि देखिएको छ ।