काठमाडौँ । नेपालमा पर्यटक आगमन कोरोना संक्रमण अघिकै अवस्थामा आइपुगेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जनवरीदेखि अक्टोबर महिनासम्म यतिका संख्यामा विदेशी पर्यटकहरु नेपाल आएका हुन।
सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको वोर्डले जनाएको छ । एक महिनाको अवधिमा यति धेरै पर्यटन नेपाल आएको यो पहिलो पटक हो ।
नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२२ मा ५२ हजार १२१, २०२१ मा १५ हजार ७१५ र सन् २०२० मा १ हजार ८३१ जना पर्यटक नेपाल आएका थिए । यस महिनामा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिकी छन् । अमेरिकाबाट १४ हजार ८७९ जना पर्यटक नेपाल आएको तथ्यांक छ । तेस्रो स्थानमा बेलायती छन् । यस मुलुकबाट ८ हजार २१७ जना पर्यटक नेपाल आएका छन् । चीनबाड ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका छन् ।