मङ्सिर २२ बाट पर्वतीय फिल्म फेस्टिभल हुने

काठमाडौँ / काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २०औँ संस्करण आगाी मङ्सिर २२ देखि सुरु हुने भएको छ । भारतीय निर्देशक एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शनमा सहभागी हुन निर्देशक झा नेपाल आउने भएका छन् ।

आयोजक संस्था हिमाल एसोसिएसनले ‘दिगो आरोहण’ संस्करणको मूल नारा राख्दै महोत्सव आयोजना गर्न लगिएको जनाएको छ । जलवायु परिवर्तन र वातावरणीय सङ्कटले हिमाल आरोहणमा ल्याएको चुनौतीलाई लक्षित गर्दै यो नारा तय गरिएको फेस्टिभल निर्देशक रम्यता लिम्बूले बताइन ।

“यसपटक भौतिकरुपमा महोत्सव आयोजना गर्न पाउँदा उत्साहित छौँ । फिल्म स्क्रिनिङबाहेक नेपाली फिल्मको भविष्य, फिल्ममा तन्नेरी पुस्ता र फिल्ममा बालबालिकाजस्ता विषयमा सामूहिक छलफल समेत हुदैछ”। निर्देशक लिम्बूका अनुसार किम्फमा ३० मुलुकका ६० भन्दाबढी फिल्म प्रदर्शन हुनेछ। राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने फेस्टिभलमा २० भन्दाबढी अन्तर्राष्ट्रिय फिल्ममेकर सहभागी हुनेछन् ।

मङ्सिर २६ गतेसम्म आयोजना हुने महोत्सव सुरुआत ‘बाघको बङ्गारा’ बाट हुँदैछ । अष्ट्रेलियाली प्याराग्लाइडरले पोलियो रोगविरुद्ध सहायता जुटाउने उद्देश्यले सगरमाथाबाट प्याराग्लाइड गर्ने कथावस्तु बोकेको फिल्म ‘फ्लाई फ्रम एभरेस्ट’बाट समापन हुनेछ । जर्मन लेखक तथा निर्माता माइकल पज, नेपाली फिल्म निर्माता तथा एनिमेटेड अगुवा किरणभक्त जोशी र दक्षिण कोरियाको अल्जु पर्वतीय फिल्म फेस्टिभलकी प्रोग्रामर जिन्ना लीले किम्फमा जुरीको रुपमा रहनेछन् ।

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा विशेष गरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन् । महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीनवटा फिल्मले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई रु एक लाख र रु। ७५ नगद पुरस्कार दिइनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकहरुको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’मार्फत रु ५० हजार पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज