काठमाडौं/आभाष उत्कृष्ट साहित्य पुरस्कार-२०७८ मालिका केशरी उपनामले परिचित साहित्यकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।
आभाष पुरस्कार कोषले शुक्रबार केशरीको तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’का लागि यो पुरस्कार दिएको हो । दुई लाख रुपैयाँ र सम्मानपत्रसहितको यो पुरस्कार राजधानीमा आयोजित कार्यक्रमबीच नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखेरलले केशरीका भाइ प्रवीणचन्द्र श्रेष्ठलाई दिएका हुन् । लेखक पारिवारिक भेटघाटका सिलसिलामा अमेरिका रहेकाले भाइले पुरस्कार ग्रहण गरेका हुन् ।
सो अवसरमा अध्यक्ष पोखरेलले उपन्यासमा उठान भएको विषय मार्मिक रहेको बताए । शरणार्थीलाई दमित गर्ने काम भइरहेको उल्लेख गर्दै उनले परिचयपत्र उपलब्ध गराउन पनि हिच्किचाउन नहुने बताए ।
कोषका संयोजक उत्तम बस्नेतले भर्खर स्थापना भएको कोषले साहित्यकारलाई प्रोत्साहनस्वरूप पुरस्कार दिन थालेको बताए । कोषले पहिलो पुरस्कार नै ‘दुङाल’लाई दिएको उनले सुनाए । आगामी वर्षमा पनि साहित्यकारलाई छनोट गरी पुरस्कार अर्पण गरिने कोषले जनाएको छ । साहित्यकार केशरीका यसअघि कविता सङ्ग्रह ‘मिरमिरे’ २०५८, र उपन्यासहरू ‘पुरुत्थान’ २०७२ र ‘सुवर्णलता’, २०७४ प्रकाशन भइसकेको छ ।