उकाली–ओरालि र मेलापातमा भ्याइनभ्याई पसिना चुहाउन विवश गाउँलेहरुलाई, यसपालि चुनावको माहोलले गर्दा, बाटोघाटो, चौतारा र कान्छीको चिया पसलमा निकै फुर्सदिलो र प्रसन्नताका साथ, झुन्ड–झुन्ड बसेर, ठूल्ठूला राजनीति गफ हाँकेको देख्दा, नेताहरुले ‘हाम्रो उद्देश्य नै तपाईंहरुको मुहारमा खुसी झल्काउनु हो भन्थे’ सायद ‘खुसी’ भनेको यही होला, मेरो सुस्त मनस्थितिले बुझ्थ्यो ।
म दुई महिनाको छोरोलाई घाममा सुताउँदै थिएँ । त्यतिखेर साइरन बजाउँदै हुँइकिएको गाडीको आवाजले छोराको निन्द्रा बिथोलिएर रुन थाल्यो ।
भित्रबाट आमाले रिसाउँदै भनिन्– ‘यिनीहरुलाई चुनाव हारिएला भन्ने पीर छ । आफूलाई नाति दुब्लाउला भन्ने पीर छ ।’ सुत्नै दिएनन्, बज्याहरुले । नानी, बाबूलाई भित्र लगेर सुता । पल्लो गाउँको निधिरामको छोरा ‘रिवाज’ चुनावमा उठेको छ । आज स्कुल नजिकैको चौतारीमा भाषण छ ।
‘आमा– रिवाज दाइको दुई वटा श्रीमती हैन ? –मैले सोधें ।
‘हो नि ! मोराले जेठी हुँदाहुँदै कान्छीलाई पनि, म कुमार केटा हो भनेर भगाएर लेराएछ । पढेको, हुने खाने श्रीमान् भएर पनि निरीह, एक्लो गाउँले जीवन बिताउन बाध्य छ जेठी । उता कान्छीलाई भने शहरमा महल बनाएर, ‘रानी’ जस्तो गरी पालेको छ ।
नानी, आ–आफ्नो कर्मको खेल ‘हिँड जाउँ, रिवाजको भाषण सुन्न । आमाले भनिन् ।
बाटोभरी आमाले भनेको, कर्मको खेल शब्दले पोल्छ मलाई । हराउँछु, आफंै भित्र, के विवाहित पुरुष, सुरा–सुन्दरीको इसारामा निरीह भएर स्त्रीगमनमा रमाउँछ भने एउटा विवाहित नारीको कर्मको दोष हुन्छ ? पुरुषको हरेक गल्ती र कमजोरीलाई नारीको भाग्यसँग तुलना गर्न मिल्छ ? उत्तर पूरा नहुँदै निरन्तर प्रतिउत्तरले फेरि प्रश्नवाचक चिन्ह खडा गराइरहँदा, नेताको भाषणले झसङ्ग भए ।
त्यतिखेर नेता भन्दै थिए –‘गाउँघरको विकास, बाटोघाटो, बेरोजगार युवाहरू, पिछडिएका जनजाति, वृद्ध भत्ता, पुरुष पीडित नारीको हकहित, बहुविवाह, बालविवाह र छोरी भू्रण हत्याको वहसमा बलियो आवाज उठाउनलाई नै मैले चुनावमा उम्मेदवारी दिएको हो । यदि चुनावमा जितेँ भने ‘वीरहरुको रगतको र देशको माटोको कसम खाँदै भन्दैछु । यी सबै कुराको विकास र उद्धार गरेरै छाड्नेछु ।
ताली तररर बज्छ’
तर हुलको बिचबाट कसै कसैले भनेको सुने ।
नेता ज्यू ! ‘तपाईंबाट पीडित जेठी श्रीमतीको पहिला उद्धार गर्नुहोस् । त्यसपछि हामी गाउँलेको र देशको बारेमा सोच्नुहोस् ।