भक्तपुर / वासु शशी स्मृति परिषद्ले अग्रज साहित्यकार हिरण्य भोजपुरेलाई ‘वासु शशी साहित्य सम्मान २०७९’ प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी, कवि श्यामललाई नगद राशि २५ हजार र सम्मानपत्रसहित ‘वासु शशी साहित्य पुरस्कार २०७९’ तथा अनुसन्धानकर्ता डा. गोपीकृष्ण खतिवडालाई नगद राशि २१ हजार र सम्मानपत्रसहित ‘वासु शशी पुरस्कार २०७९’ प्रदान गर्ने निर्णय गरेको हो ।
सो निर्णय परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । ‘वासु शशी साहित्य सम्मान’ बाट सम्मानित साहित्यकार भोजपुरेका उपन्यासहरु ‘छिटेन’, ‘मेरी आमै’ र ‘मेरी आमा ओ आमा’, कथाकृतिहरु ‘चौबाटोको चारैतिर’, ‘जँघारहरु’ र ‘रङ्गहरु’, निबन्धकृति ‘नेपाली गीत संगीतका केही रङ्ग केही तरङ’, संस्मरणकृति ‘अमेरिका ओ अमेरिका’, गीतसंग्रह ‘म गीतभित्र’, बालकवितासंग्रह ‘मेरो मन मेरो माटो’ तथा ‘सगरमाथाभन्दा माथि’ आदि प्रकाशित रहेका छन् ।
‘वासु शशी साहित्य पुरस्कार’ बाट सम्मानित कवि श्यामलका कविता संग्रहहरु ‘तपाईंहरू मार्फत्, ‘लयव्रह्म’, ‘हतारमा यात्रा’, ‘कविले रोजेका कविता’ (श्रव्य सिडी) र निबन्ध संग्रहः ‘रित्तो गाउँ’, तथा अनुवाद कृति गाब्रियल गार्सिया मार्खेजको उपन्यास
‘अभागी कर्नेल’ आदि प्रकाशित रहेका छन् ।‘वासु शशी शोध पुरस्कार’ बाट सम्मानित अनुसन्धानकर्ता उप–प्राध्यापक डा. गोपीकृष्ण खतिवडाले नेपाल संस्कृत विश्वविद्यालयबाट ‘वासु शशीका नाटकमा नाट्यतत्व’ शीर्षकमा विद्यावारिधि गरेका छन् । कवि एवं नाटककार वासु शशीको ८७औं जन्मजयन्ती आगामी चैत १३ गते आयोजना गरिने कार्यक्रममा सबै सम्मान प्रदान गरिने परिषद्का सचिव प्रधुम्न जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
वासु शशी साहित्य पुरस्कारबाट यसअघि कवि एवं साहित्यकार विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पालिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, सैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाई, राधेश्याम लेकाली र मोमिला पुरस्कृत भइसकेका छन् । यसैगरी, वासु शशी साहित्य सम्मानबाट वरिष्ठ साहित्यकार तीर्थराज वन्त, डा. मोहनहिमाशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य र शैलेन्द्र साकार, सम्मानित भइसकेका छन् ।