जापानमा सुन्दरी ब्याण्डसँग सञ्जयको साँगीतिक कार्यक्रम

सुन्दरी मिका नामले परिचित जापानी गायिका ताकागी मिका तथा उनको सांगीतिक समूह सुन्दरी ब्याण्डसँग ज्ञानमाला सांस्कृतिक संगीत प्रतिष्ठानका प्रशिक्षक तथा वाद्यवादनसमेत रहेका सञ्जय महर्जनले संयुक्त रूपमा सांगीतिक प्रस्तुति दिएका छन् ।

नेपाल-जापानबीचको सांस्कृतिक सम्बन्धलाई बिम्बका रुपमा उजागर गर्दै आइरहेकी जापानी गायिका ताकागी मिकाको सांगीतिक समूह सुन्दरी ब्याण्डसँग महर्जनले हिरोसिमाको फुकुयामामा साँगीतिक प्रस्तुती दिएका हुन्। तीन जनाको समुह रहेको ब्याण्डमा जापान बाट मिका र जुन रहेका छन भने नेपालबाट सञ्जय महर्जन रहेका छन्।

मिका नेपाली र नेवारी भाषामा पोख्त छिन् , केही समय अघि नै उनको आवाजमा ‘जिगु थ्व मन’ ‘सिरसाया हेकु’ ‘मित्रताको गीत लगायत  थुप्रै गीत नेपाली समुदायमा चर्चित भैसकेका छन् । उनले १७ वर्ष नेपालमा बिताएकी छिन् ।

मार्च १९ मा ताकाहामा शहरको कावारा म्युजियमबाट सुरु भएको सांगीतिक यात्रा ओसाकाको क्योटो नेपाली रेस्टुरेन्ट, सिङ्हा गेस्ट हाउस, हिरोसिमाको तेरियामा निसिमित्सु स्टेसन हुँदै फुकुयामा अटोमोबाइल कल्क म्युजियममा विशेष कार्यक्रम गरि समापन भएको छ । नेपाली कला संस्कृतिसँग विशेष रूची राख्दै आएकी सुन्दरी मिकाले जापानमै बसेर पनि नेपाली गीत सङ्गीतमा आवद्ध छिन् ।

नेपाली भाकामा जापानी शब्द राखेर गाउने उनको अलग प्रस्तुतिका कारण जापानीहरूले पनि मिकाको प्रस्तुति निकै मन पराइरहेको पाइन्छ ।

 

कार्यक्रम हेर्न आएका फुकुयामा शहरकी ४५ वर्षीया महिलाले भनिन्, नेपाली सङ्गीत पहिलो पटक सुनेको हो, तर त्यसले मलाई अतीतको दिन याद दिलायो र यसले मेरो मन छोयो।

 

त्यसै गरि युसुका उता नाम गरेका फुकुयामाका एक व्यावसायी सन् २००४ मा सगरमाथा आरोहण गर्न नेपाल आएकी आफ्नो आमा सगरमाथाको चुचुरो बाट फर्किने क्रममा हराएको दुःखद घटना सुनाउँदै आफ्नो आमाको सम्झनामा नेपाली कार्यक्रम हेर्न आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज