काठमाडौं/ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेको त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ।
समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले विज्ञप्ति जारी गर्दै ६० प्रतिशत विद्यार्थीले स्ववियु चुनावमा मतदान गरेको जानकारी दिएका हुन् ।
त्रिविका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा मतदानका लागि आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म समय दिइएको थियो।
विवाद सिर्जना भएपछि काठमाडौंका त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा आज स्ववियु चुनाव हुन सकेन भने उपत्यका बाहिर केही विवाद भएपछि स्ववियु निर्वाचन स्थगित गरिएको बताइएको छ । निर्वाचन स्थगित भएका क्याम्पसहरूमा विद्यार्थी संगठनवीच छलफल गरेपछि नयाँ मिति तोकेर निर्वाचन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।