काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका ७७ जिल्लामा पाठ्यपुस्तक पाइसकेको जनाएको छ ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले यस्तो दावी गरेको हो । मन्त्रालयका सहसचिव दीपक शर्माले सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको जानकारी दिए । यसपालि हामीले समयमै सबै विद्यालयका विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्याएका छौं, उनले भने ।
वैशाख दोस्रो सातासम्म ७७ जिल्लाका सूचीकृत १ हजार २ सय ६७ स्थानीय विक्रेतामार्फत पाठ्यपुस्तक बिक्री वितरण गरिएको मन्त्रालयले जनाएको छ । सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेका उनको भनाइ थियो । प्रवक्ता शर्माका अनुसार यस वर्ष जनक शिक्षा सामग्री केन्द्रबाट कक्षा ६ देखि १० का लागि एक करोड ५५ लाख थान पाठ्यपुस्तक र निजी क्षेत्रका प्रेसबाट कक्षा १ देखि ५ सम्मको १ करोड १८ लाख पाठ्यपुस्तक छपाइ गरिएको थियो।