एक सय ६२ क्षेत्रको मतगणना सकियो, ७ वटा दलले राष्ट्रिय मान्यता पाउने

काठमाडौं /प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा सम्पन्न निर्वाचनको दोलखा, स्याङ्जा २ र बाजुरा बाहेकका एक सय ६२ क्षेत्रको मतगणना सकिएको छ ।

प्रत्यक्षतर्फ एक सय ६२ क्षेत्रको अन्तिम परिणाममा कांग्रेसले ५५, एमालेले ४४, माओवादीले १७, एकीकृत समाजवादीले १०, जसपाले सात, राप्रपाले सात र राष्ट्रिय स्वतन्त्र पार्टीले सात सिट जितेका छन् । त्यस्तै, लोसपाले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, जनमोर्चाले एक, नेमकिपाले एक, जनमत पार्टीले एक र पाँचजना स्वतन्त्रले जितेका छन् ।

गणना भइरहेका स्याङ्जा २ र बाजुरामा कांग्रेस तथा दोलखामा माओवादी उम्मेदवारले अग्रता लिएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यी तीनवटै क्षेत्रको अन्तिम परिणाम २० मंसिरसम्म आउने छ।

निर्वाचन अयोगले सार्वजनिक गरेको मतगणनाको पछिल्लो नतिजा अनुसार अहिलेसम्म कुल सदर मतको तीन प्रतिशत थे्रसहोल्ड कटाएका एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय दलका रुपमा रहन पुगेका छन् ।

एक सय ६२ क्षेत्रको समानुपातिक मत गणना पनि सकिएको छ । समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार शुक्रबारसम्म एक करोड तीन लाख ९२ हजार मत गणना सकिँदा एमालेले २७ लाख ७९ हजार मत पाएको छ । नेपाली कांग्रेसले २६ लाख ४८ हजार मत पाएको छ भने माओवादीले ११ लाख ६१ हजार मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार मत पाएको छ । त्यसैगरी राप्रपाले पाँच लाख ८६ हजार मत पाएको भने जसपाले चार लाख २० हजार मत पाएको छ । जनमतले तीन लाख ९४ हजार मत पाएको छ । आयोगका अनुसार थ्रेसहोल्ड कटाउनका लागि करिव तीन लाख १७ हजार मत आवश्यक पर्छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी भने राष्ट्रिय दल बन्ने सम्भावना कमजोर बनेको छ । समाजवादीले दुई लाख ९४ हजार मात्रै मत प्राप्त गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज