काठमाडौं / चीनले आन्तरिक द्वन्द्वबाट तहसनहस भएको इराकको पुनः निर्माणका निम्ति निरन्तर सहयोग गर्ने बताएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्रपति सी चिनफिङले आर्थिक क्षेत्रको पुनर्निर्माण, उद्योगहरूको स्थापना,इराकी जनताको जीवन यापनमा सुधार, दिगो विकासका निम्ति निरन्तर सहयोग गर्ने बताए ।
इराकी प्रधानमन्त्री मोहम्मद शिहा अल सुडानीसँग शुक्रबार आज भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा मन्तव्य व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सीले इराकलाई सहयोग गर्ने बताए ।
यस्तै, चीनले ट्युनिसियालाई आफ्नो राष्ट्रिय अवस्था अनुरूप विकासको बाटोमा अघि बढ्न दृढतापूर्वक समर्थन गर्ने र ट्युनिसियाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गरेको चिनियाँ राष्ट्रपति चिनफिङले बताए । साउदीको राजधानी रियादमा ट्युनिसियाका आफ्ना समकक्षी काइस सइदसँगको भेटमा सीले उक्त टिप्पणी गरे ।