ओमिक्रोन बिए– ५ को सबभेरियन्ट (नयाँ स्वरूप) बिएफ– ७ व्यापक

काठमाडौं/ओमिक्रोन बिए–५ को सबभेरियन्ट (नयाँ स्वरूप) बिएफ–७ छिमेकी चीन, भारतलगायत ९१ देशमा फैलिएको छ । विगतका भेरियन्टभन्दा फैलिने दर उच्च र द्रुत रहेको बिएफ– ७ को जिन विश्वका ९१ देशमा फैलिएको अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटले जनाएको छ ।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को तथ्यांकअनुसार आइतबार मात्रै १० लाखमा संक्रमण पुष्टि भएको छ । केही समययता देखिएको भारतमा आइतबार एक सय ९६ नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतले अन्य देशबाट भित्रिने यात्रुमा कोभिड परीक्षणमा कडाइ थालेको छ ।

खुला सीमा रहेको भारतमा संक्रमण फैलिन थालेसँगै नेपाल पनि जोखिममा रहेको भन्दै सजगता अपनाउन सरकारले अपिल गरेको छ । हाल नेपालमा भने दैनिक संक्रमण लगभग शून्यमा छ । बिएफ–७ ले चीन र भारतबाहेक अमेरिका, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियमलगायत देशमा बढी असर गरिरहेको छ ।

हार्वर्ड युनिभर्सिटीका भाइरोलोजिस्ट डा. एरिक डिंगले डेल्टाको तुलनामा बिएफ–७ को प्रजनन दर झन्डै तीन गुणा बढी रहेको बताएका छन् । ट्विट गर्दै उनले यो एक संक्रमितबाट एकैपटकमा १० देखि १८.६ व्यक्तिमा संक्रमण फैलाउन सक्ने क्षमताको रहेको बताए । उनले लेखेका छन्, ‘यदि एउटा संक्रमित स्वस्थ व्यक्तिहरूको सम्पर्कमा रहेमा एकैपटकमा १८.६ गुणा बढीमा संक्रमण फैलाउन सक्छ । जब कि डेल्टा भेरियन्टको प्रजनन दर ५ देखि ६ गुणा मात्रै छ ।’ बिएफ– ७ ले खोप लगाइसकेका व्यक्तिमा समेत संक्रमण गराएको र यो फैलिएसँगै संक्रमण दर पुनः ह्वात्रै बढेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज