विश्वका लागि पूर्ण रूपमा खुल्दै चीन

बेइजिङ/ कोरोना भाइरसको महामारीविरुद्ध कडा नीति अख्तियार गर्दै आएको चीन विदेशी नागरिकहरूका लागि पूर्ण रुपमा खुल्ने भएको छ । चीनले मंगलबार एक घोषणा गर्दै आफ्नो देश प्रवेश गर्ने विदेशीहरू जनवरी ८ देखि क्वारेन्टिनमा बस्नुपर्ने जनाएको हो ।

सन् २०२० को मार्चयता चीन प्रवेश गर्ने सबै यात्रुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाइएको थियो । तर सुरुमा तीन साता क्वारेन्टिनमा बस्नुपर्ने नियम पछिल्लो समय पाँच दिनमा झारिएको थियो । तर जनवरी ८ देखि भने कोरोनालाई ‘ए’ वर्गको संक्रामक रोगबाट ‘बी’ वर्गमा झारिएको छ । यसको अर्थ अब यो रोगबाट संक्रमित व्यक्तिहरू क्वारन्टिनमा बस्न अनिवार्य हुने छैन ।

भाइरसको संक्रमण फैलिएसँगै ‘शून्य कोभिड नीति’ अन्तर्गत लगाइएका प्रतिबन्धहरू पछिल्लो दिनमा चीनले शृंखलाबद्ध रूपमा हटाउदै आएको छ । तर पछिल्ला दिनमा चीनका कतिपय सहरमा कोरोना संक्रमणका घटनामा तीव्र रुपमा वृद्धि भएको जनाइएको छ ।

चिनियाँ स्वास्थ्यकर्मीहरूले बढ्दो संक्रमणसँग जुध्न आफूहरूले संघर्ष गरिरहेको बताएका छन् । पछिल्ला केही सातायता कोरोनाको नयाँ सब–भेरिएन्ट ‘बीएफ–७’ तीव्र रुपमा फैलिएको र त्यसका कारण अस्पतालहरूमा भीड बढेको जनाइएको छ ।

गत साता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनका अस्पतालहरू संक्रमितले भरिन थालेका जनाएको थियो । संगठनको आपत्कालीन विभागका प्रमुख माइकल ¥यानले ‘चिनियाँ अस्पतालका सघन उपचार कक्ष (आईसीयू) भरिएका जस्तो देखिएको’ जनाएका थिए ।

डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनमा बढिरहेको संक्रमण ‘चिन्ताजनक’ भएको बताउँदै संक्रमणको गम्भीरता, अस्पताल भर्ना दर र आईसीयूको आवश्यकताबारे तथ्यांक उपलब्ध गराउन चीन सरकारसँग आग्रह गरेका थिए । त्यसका साथै, खोपको प्रयोग व्यापक पार्नुपर्ने संगठनको भनाय छ । चीनले कोरोनाविरुद्धको आफ्नै देशमा उत्पादन गरेको खोप प्रयोग गर्दै आएको छ । तर उक्त खोप अन्य देशमा उत्पादित खोपको तुलनामा कम प्रभावकारी भएको विज्ञहरूको आशंका छ । तीन वर्षदेखि चीनले भाइरस परीक्षण र कडा लकडाउनमा जोड दिएको भए पनि त्यही रूपमा खोप लगाउने काम भने हुन सकेको छैन ।
संक्रमणदर बढेको भएपनि मृत्युदर भने नबढेको चिनियाँ अधिकारीहरूको भनाइ छ । तर चीनको सरकारी निकायले केहि दिनयता कोरोनासम्बन्धी तथ्यांक सार्वजनिक गर्न छाडेका कारण संक्रमित र ज्यान गुमाएकाहरूको संख्या थाहा हुन सकेको छैन् । गतसाता सार्वजनिक तथ्यांकमा राजधानी बेइजिङमा दैनिक ४ हजारको हाराहारीमा संक्रमित हुने गरेका जनाइएको थियो ।

आइतबारयता बेइजिङमा दैनिक ५ हजारको हाराहारीमा संक्रमित थपिएका बेलायती स्वास्थ्य तथ्यांक फर्म एयरफिनिटीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । विश्वका प्रमुख अर्थतन्त्रमध्ये कोरोनासँगै बाच्ने नीति अख्तियार गर्ने चीन पछिल्लो देश हो । करिब तीन वर्षसम्म लकडाउनमा रहेको चीनमा सीमा क्षेत्र बन्द राखिएको थियो भने संक्रमित र उनीहरूको सम्पर्कमा आएकाहरू अनिवार्य क्वारेन्टिनमा बस्नुपर्थ्यो ।

तर ‘शून्य कोभिड नीति’ ले अर्थतन्त्रमा नकारात्मक असर परेको र जनजीवन नराम्ररी प्रभावित भएको भन्दै नोभेम्बरमा चिनियाँहरूले राष्ट्रपति सी चिनफिङविरुद्ध प्रदर्शन गरेका थिए । विश्वका अधिकांश देशले ‘कोरोना सँगसँगै’ बाँच्ने नीति अख्तियार गरेपनि चीनले प्रतिबन्धहरू नहटाएपछि प्रमुख सहरहरूमा विरोध प्रदर्शन चर्केको थियो । जसका कारण चीन सरकारले डिसेम्बर ८ देखि सावधानीका विकल्पसहित प्रतिबन्धहरू हटाएको हो ।
पश्चिमी चीनको उरुम्चीमा कडा प्रतिबन्धहरू जारी रहेका बेला एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएपछि राष्ट्रपतिविरुद्धको प्रदर्शन चर्केको थियो । उरुम्चीबाट सुरु भएको प्रदर्शन बेइजिङ, सांघाई, नान्जिङ, गोङजाउ, गोङजाउ, चोङकिङ लगायतका सहरमा फैलिएको थियो । कोरोनासम्बन्धी नियम परिवर्तनका विषयमा बोल्दै राष्ट्रपति सी चीनफिङले आम मानिसहरूको जनजीवन सहज पार्न र उनीहरूको ज्यान बचाउनका लागि आवश्यक कदम चाल्न आव्हान गरेका छन् । देशले नयाँ अवस्थाको सामना गरेको र त्यसप्रति थप लक्षित प्रतिक्रिया जनाउन आवश्यक रहेको राष्ट्रपति सीले बताएका चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

तीन वर्षदेखि भाइरस परीक्षण र कडा लकडाउनमा जोड दिएका कारण चीनले भाइरसको असरलाई सफलतापूर्वक नियन्त्रणमा राख्न सफल भएको थियो । तर उक्त नियम हटाएसँगै महामारीको व्यवस्थापन गर्न भने चीनलाई निकै कठिन पर्ने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज