इरान रुसको प्रमुख सैन्य सहयोगी भएको अमेरिकी दाबी

अमेरिकाले इरानले रुसका लागि प्रमुख सैन्य सहयोगीका रूपमा भूमिका निर्वाह गरिहेको दाबी गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले रुस र इरानबीचको सम्बन्धमा निकै न्यानोपन छाएको र त्यो पूर्णस्तरको रक्षा साझेदारीका रूपमा बदलिएको उनको दाबी छ ।

गत फेब्रुअरीदेखि युक्रेनमाथि सैन्य आक्रमण गरिरहेको रुसले इरानलाई अभूतपूर्व तहको सैन्य सहयोग दिइरहेको र दुवै देशले संयुक्त रूपमा घातक ड्रोनहरूको उत्पादन गर्ने विषयमा तयारी गरिहेको विषयमा अमेरिकाले रिपोर्टहरूमा देखेको कर्बीको दाबी छ ।

युक्रेनी अधिकारीले पछिल्लो समय आफ्नो भूभागमा आक्रमण गर्न रुसले इरानमा निर्मित ड्रोनहरूको प्रयोग गरिरहेको बताउँदै आएको छ । पछिल्लो समय रुस र इरानबीच विभिन्न क्षेत्रमा सहकार्य बढ्दै गएका कारण पनि सैन्यलगायत क्षेत्रमा साझेदारी हुन सक्ने ठानिएको छ । युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई ड्रोनहरू आपूर्ति गरेको भन्दै अस्ट्रेलियाले एक व्यवसाय र तीनजना इरानी नागरिकलाई प्रतिबन्धको घोषणा गरेको छ ।
प्रारम्भिक रूपमा भने इरानले रुसलाई ड्रोन उपलब्ध गराएको अस्वीकार गरेको थियो । तर युक्रेनमाथि आक्रमण हुनुअघि केही मात्रामा ड्रोन उपलब्ध गराएको स्वीकार गरेको थियो । ड्रोन उत्पादनमा रुस र इरानबीचको साझेदारी युक्रेन, इरानका छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायका लागि घातक हुने कर्बीको भनाइ छ ।

रुसले इरानलाई हेलिकप्टर र हवाई प्रतिरक्षा प्रणालीलगायतका अत्याधुनिक सैन्य सामग्री उपलब्ध गराउन सक्ने बताउँदै कर्बीले रुसले इरानसँग अस्त्रको विकास तथा तालिमका क्षेत्रमा सहकार्य गर्न खोजिरहेको दाबी गरे ।
‘इरानले उपलब्ध गराएका ड्रोनहरूको प्रयोग गरेर रुसले युक्रेनी ऊर्जा केन्द्रमा आक्रमण गरेको छ र दसौं लाख युक्रेनीलाई ऊर्जा र अन्य अत्यावश्यकीय सेवाबाट वञ्चित गरिरहेको छ । इरानका कारण युक्रेनमा मानिसहरूले ज्यान गुमाइरहेका छन्,’ उनले भने ।

कर्बीको भनाइप्रति प्रतिक्रिया जनाउँदै यूकेका विदेशमन्त्री जेम्स क्लिभर्लीले इरान रुसको प्रमुख सैन्य समर्थक बनिसकेको र दुई देशबीचको सम्बन्ध विश्व सुरक्षाका लागि खतरनाक भएको बताएका छन् । दुई देशबीचको सम्झौताअन्तर्गत इरानले सयौं ड्रोनहरू रुसमा पठाएको उनको दाबी छ ।

त्यसको बदलामा रुसले इरानलाई उपलब्ध गराउने सैन्य र प्राविधिक सहयोगले मध्यपूर्वका साझेदार र अन्तर्राष्ट्रिय सुरक्षामा जोखिम बढ्ने क्लिभर्लीले बताए । आगामी दिनमा बलिस्टिक क्षेप्यास्त्रसहित थप अस्त्रहरू प्राप्त गर्नका लागि प्रयास गरिरहेको रुसले इरानलाई दिने सैन्य सहयोग बढ्नेमा अमेरिका र बेलायत सहमत रहेका उनले बताए ।

रुसले अक्टोबर १७ मा इरानी ‘कामिकज’ ड्रोनद्वारा गरेको आक्रमणमा कम्तीमा ८ जनाको ज्यान गएको युक्रेनले जनाएको छ । युक्रेनको आरोप सुरुमा अस्वीकार गरेको भए पनि पछि इरानले रुस–युक्रेन युद्ध सुरु हुनुभन्दा कैयौं महिना अघि सीमित मात्रामा ड्रोनहरू पठाएको बताएको थियो ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले इरानको दाबी झूटो भएको र युक्रेनले प्रत्येक दिन लगभग १० वटा इरानी ड्रोनहरू खसालिरहेको जनाएका थिए । पछिल्लो समय रुसले युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ । जसका कारण कम्तीमा ८० लाख युक्रेनीहरू चिसोमा बस्न बाध्य भएका जनाइएको छ ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले शनिबार एक विज्ञप्ति जारी गर्दै ‘इरानले रुसलाई ड्रोनहरूको आपूर्ति गरेर विश्व सुरक्षा अस्थिर बनाउन भूमिका खेलिरहेको प्रमाण भएको’ दाबी गरेकी थिइन् । अस्ट्रेलियाले एक इरानी व्यवसाय र तीन जना इरानी नागरिकमाथि प्रतिबन्ध लगाएको जनाउँदै उनले रुसलाई समर्थन गर्नेले त्यसको परिणाम बेहोर्नुपर्ने चेतावनी दिएकी बीबीसीले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज