काठमाडौँ । चीनले सन् २०२३ को रक्षा बजेटमा ७.२ प्रतिशतले वृद्धि गर्ने भएको छ । आइतबार राष्ट्रिय जनकंग्रेस (एनपीसी) को वार्षिक सत्रको उद्घाटनमा पेस गरिएको बजेटको मस्यौदामा देशको वार्षिक रक्षा बजेट करिब २ खर्ब २५ अर्ब डलर हुने उल्लेख छ ।
विश्वव्यापी रूपमा नै सुरक्षा तनाव बढिरहेको अवस्थामा चीनले आफ्नो रक्षा बजेटलाई निरन्तर बढाउँदै लगिरहेको छ । यसले अमेरिका र चीनबीचको द्वन्द्वलाई थप उत्कर्षमा पु¥याउन सक्ने रक्षा विश्लेषकहरूले दाबी गरेका छन् ।
बाह्य खतरा र अस्थिरताको सामना गरिरहेको राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र विकास हितको रक्षा गर्न तथा आफ्नो राष्ट्रिय रक्षालाई आधुनिकीकरण गर्ने प्रयासका लागि रक्षा बजेट बढाइएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
सन् २०१६ यता चीनले लगातार आठौँ वर्ष रक्षा बजेटमा भइरहेको बढोत्तरीलाई कायम नै राखेको हो । कोभिड महामारीको समयमा पनि चीनले रक्षा बजेट वृद्धिलाई कायम नै राखेको थियो । २०२० मा रक्षा बजेटमा ६.६ प्रतिशतको वृद्धि, २०२१ मा ६.८ प्रतिशत तथा २०२२ मा ७.१ प्रतिशतले वृद्धि गरिएको थियो । गत वर्षको तुलनामा यसवर्ष रक्षा बजेट केवल ०.१ प्रतिशतले बढाइएको हो । चिनियाँ सैन्य विज्ञ तथा टिप्पणीकार सोङ झोङपिङका अनुसार चीनको राष्ट्रिय रक्षा आवश्यकता र आर्थिक विकासलाई ध्यानमा राख्दा यो वृद्धिलाई उच्च मान्न सकिन्न ।
यस्तै बजेटमा २०२३ मा चीनको आर्थिक वृद्धिदर लाई ५ प्रतिशत पु¥याउने लक्ष्य रहेको पनि उल्लेख गरिएको छ । २०२२ मा चीनले आर्थिक वृद्धिदरलाई ३ प्रतिशत कायम राख्ने लक्ष्य राखेको थियो ।
ग्लोबल टाइम्सका अनुसार चीनले सन् २०२७ सम्ममा चिनियाँ सेनाको शताब्दी लक्ष्य हासिल गर्ने, सन् २०३५ सम्ममा राष्ट्रिय रक्षा र सशस्त्र बलको आधुनिकीकरण गर्ने र २१औँ शताब्दीको मध्यसम्ममा सशस्त्र सेनालाई पूर्णरूपमा विश्वस्तरको सेना बनाउने लक्ष्य राखेको छ।
गत शनिबारबाट सुरु भएको एनपीसी बैठकले राष्ट्रपतिमा सी चिनफिङको पुनः निर्वाचित गर्नुका साथै चिनियाँ सेनाको प्रमुख पनि चयन गर्ने छ । साथै यसै बैठकले चीनको नयाँ प्रधानमन्त्री पनि चयन गर्ने छ । गत अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले राष्ट्रपति सीलाई तेस्रो पटक पार्टीको नेतृत्वकर्ता चयन गरेको थियो ।
रुस–युक्रेन युद्ध, बेलुन काण्डसँगै अमेरिकासँग बढेको तिक्तता तथा राष्ट्रपति सीको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकटताबीच आएको रक्षा बजेटले विश्व राजनीतिलाई नै तरंगित बनाएको छ । अमेरिकी अधिकारीहरुले चीनले ताइवानमाथि निकट भविष्यमा नै आक्रमण गर्नसक्ने खतरा रहेको दाबी गर्ने गरेका छन् । चीनले विगत केही वर्ष यता ताइवान वरपरको सामुद्रिक क्षेत्रमा सैन्य शक्तिको प्रदर्शनलाई बढावा दिएको छ । चीनले स्वशासित ताइवानलाई आफ्नो देशको अंग बताउँदै आएको छ ।