राहुल गान्धीलाई २ वर्षको जेल सजाय

काठमाडौं / भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । तुरुन्त उनलाई अदालतले धरौटीमा छाड्ने आदेश पनि सुनाएको छ । भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको हो । अदालतले राहुललाई सजायको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिएको छ ।

सन् २०१९ मा गान्दीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथित रूपमा एक बयानमा ’किन सबै चोरका थर मोदी छ ?’ भनेको आरोप लागेको छ ।

राहुल गान्धीमाथि भारतीय दण्ड संहिताको धारा ४९९ र ५०० अन्तर्गत रहेर मुद्दा दायर गरिएको थियो । भारतीय दण्ड संहिताको धारा ४९९ मा आपराधिक मानहानिको कसुरमा अधिकतम २ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्रावधान छ । सन् २०१९ को लोकसभा चुनावको प्रचारप्रसारका क्रममा कर्नाटकको कोलारमा उक्त विवादास्पद भनिएको बयान दिएको आरोप छ । हिन्दुस्तान टाइम्सका अनुसार राहुल गान्धीलाई १० हजार रुपैयाँमा धरौटीमा छाडिएको हो ।

अदालतको आदेशलगत्तै राहुल गान्धीले महात्मा गान्धीको भनाइ फेसबुकमा सेयर गरेका छन्, ’मेरो धर्म सत्य र अहिंसामा आधारित छ । सत्य मेरो भगवान हो, अहिंसा त्यसलाई प्राप्त गर्ने साधन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज