सोमालियामा खडेरीबाट कम्तीमा ४३ हजारको मृत्यु

सोमालियामा पछिल्लो वर्षा सन् २०२१ मा भएको थियो  । त्यसयता वर्षा हुन सकिरहेको छैन  । लामो खडेरीका कारण बालीनाली चौपट भयो  । गाईबस्तु मरे  । भोक र रोगका कारण थुप्रै मानिस मर्न थालेपछि उनीहरू व्याकुल भएर आकाशतिर हेर्न थालेका छन्  । संयुक्त राष्ट्रसंघ र सोमालिया सरकारले सार्वजनिक गरेको एउटा नयाँ प्रतिवेदनअनुसार भोकमरीबाट गत वर्ष सोमालियामा ४३ हजारभन्दा बढीको मृत्यु भएको थियो  । मृत्यु हुनेमध्ये आधाजति पाँच वर्षमुनिका बालबालिका थिए  ।

अहिलेको भोकमरी सोमालियाको सन् २०१०–११ को अनिकालयताकै घातक अनिकाल हो  । सन् २०१०–११ को अनिकालले दुई लाख ६० हजार मानिसको ज्यान लिएको थियो  । थामिनुअघि यो दुर्भिक्ष अझै खराब हुँदै जानेछ  । लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धाताले आउँदा महिनामा खडेरीका कारण यहाँ हरेक दिन एक सय ३५ जनाको मृत्यु हुने अनुमान गरेका छन्  । भोकमरी मापन गर्ने संयुक्त राष्ट्रसंघको निकाय ‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आइपिसी)’ का अनुसार ६५ लाख सोमालियालीले अप्रिलदेखि जुन महिनाको बीचमा खाद्य असुरक्षालाई ‘संकट’, ‘आपत्काल’ वा ‘विपत्ति’को स्तरमा सामना गर्नेछन्  ।

अहिलेको खडेरी यो क्षेत्रको ४० वर्षयताकै खराब खडेरी भएको छ  । खडेरी सोमालियादेखि केन्या, जिबुटी र इथियोपियासम्म विस्तारित भएको छ  । ती देशमा पनि दशौँ लाखौँ मानिस भोकमरीमा परेका छन्  । यो खडेरी ला नीनासँग सम्बन्धित छ  । प्रशान्त महासागरको आर्दतालाई चिसो बनाउने यो प्रणालीले विश्वभरकै मौसमी ढाँचालाई असर गर्छ  । र यो तीन वर्षपछि अहिले केही मत्थर भएको छ  । यसको प्रभाव जलवायु परिवर्तनका कारण बढेको हुन सक्छ  । तर, जलवायु परिवर्तनका लागि सोमालियाका जनतालाई कदापि दोष दिन सकिंँदैन  । किनभने, सन् १९६० मा स्वतन्त्र भएयता अहिलेसम्म सोमालियाले गरेको जति कार्बन–डाइअक्साइड उत्सर्जन अमेरिकीहरूले साढे दुई दिनमा गर्छन्  ।

समस्यालाई त्रासदीमा परिणत गर्ने दुईवटा कारण छन्  । पहिलो हो रुसले युक्रेनमाथि गरेको आक्रमण  । युद्धअघिसम्म युक्रेनले सोमालियाको गहुँ आयातको ९० प्रतिशत हिस्सा ओगट्थ्यो  । सन् २०१७ मा सोमालियाले अघिल्लोपटक खडेरीको सामना गरिरहँदा तत्कालै आएको मानवीय सहायताले मानिसहरूको ज्यान जोगाएको थियो  । यसपटक युक्रेन युद्ध (सँगसगै कोभिड– १९) का कारण सहायता नै ढिलो पुग्यो  ।

दोस्रो चुनौती भनेको असुरक्षा हो  । अल कायदासँग सम्बद्ध अल सबाबले सोमालियाका अधिकांश ग्रामीण इलाकामाथि नियन्त्रण जमाएको छ  । अगस्टपछि भने सोमालियाली सेना र जातीय मिलिसियाहरूले तिनलाई देशको मध्य भागबाट केही बाहिर धकेलेका छन्  । तर, जिहादीहरू देशको दक्षिणी क्षेत्रमा बलियो पकड जमाएर बसेका छन््, जहाँ भोकमरीको अवस्था थप गम्भीर छ  । त्यहाँ जान सहायताकर्मीहरू अपहरण वा मारिने डरमा छन्  ।

– द इकोनोमिस्ट

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज