किन अशान्त छ सुडान ?

सुडान/ अफ्रिकी देश सुडानमा दुई सुरक्षा निकायबीचको द्वन्द्व चर्किएको छ  । सुडानको सेना र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) को नेतृत्वबीच शक्ति बाँडफाँटको विषय नमिल्दा गत अप्रिल १५ देखि दुवै सुरक्षा निकायबीच लडाइँ सुरु भएको थियो  ।

आइतबार सुडानको सेनाले राजधानी खार्तुममा आरएसएफलाई लक्षित गर्दै सहरका सबै क्षेत्रबाट आक्रमण गरिरहेको जनाएको छ  । लडाइँका कारण राजधानीमा लाखौं व्यक्ति फसेका छन्् भने त्यहाँ खानाको अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  । अन्य देशहरूले पनि सुडानबाट आफ्ना नागरिकको उद्धारकार्यलाई तीव्रता दिएका छन्  । लडाइँमा हालसम्म ५ सयभन्दा बढी व्यक्तिको मृत्यु र हजारौं घाइते भएका छन्  । यो संख्या अझै धेरै हुन सक्ने आकलन छ  । हजारौं सुडानी नागरिक देश छोडेर छिमेकी देशहरूमा विस्थापित भएका छन्  ।

छिमेकी देशहरू, अमेरिका, बेलायत र संयुक्त राष्ट्रसंघले सुडानमा युद्धविराम तथा युद्धरत दुवै पक्षलाई वार्ताका लागि पहल गर्दै आएका छन्  । तर, बिहीबार थपिएको ७२ घण्टे युद्धविराम शनिबार बेलुकादेखि नै तोडिएको छ  । उक्त दिन खार्तुममा सेनाले आरएसएफलाई लक्षित गर्दै हवाई आक्रमण र बमबारी गरेको थियो  ।

प्रत्यक्षदर्शीका अनुसार सहरको मुख्य इन्धन प्रशोधन क्षेत्रमा रहेको आरएसएफमाथि सेनाले ड्रोन आक्रमण गरेको थियो  । ‘बिहान फाइटर जेट तथा विमान नष्ट गर्ने हतियारको आवाजसँगै उठेका छौं,’ आइतबार एक स्थानीयले एएफपीलाई भने  । बेलायत सरकारले शनिबार नै सुडानबाट आफ्नो उद्धार सकेको छ  । उसले हवाई उडानमार्फत १ हजार ९ सय जनाको उद्धार गरेको जनाएको छ  । यस्तै, अमेरिकाले पनि सुडानबाट आफ्ना नागरिकलाई उद्धार गरेर साउदी अरब लगेको छ  ।

आरएसएफ र सेनाले राष्ट्रपति रहने क्षेत्र, खार्तुर्म विमानस्थल र अन्य महत्त्वपूर्ण क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ  । स्थानीय बासिन्दालाई भने सुरक्षित स्थानतर्फ जान आदेश दिइएको छ  । आइतबार नै रेडक्रसले सुडानमा आठ टन राहत तथा स्वास्थ्य सामग्री पु¥याएको छ  । हाल खार्तुममा ७० प्रतिशत अस्पताल बन्द रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  ।

सुडानमा राष्ट्रपतिको हैसियतमा सेनाका प्रमुख जनरल अब्देल फत्ताह अल बुर्हान छन्् भने उनीपछिको दर्जामा आरएसएफ प्रमुखमा ‘हेमेत्ती’ भनेर चिनिने मोहम्मद हमदान दागालो छन्  । सन् २०१९ मा सैन्य विद्रोह गरी तत्कालीन शासक ओमार अल बसिरलाई सत्ताबाट हटाउन उनीहरूले सहकार्य गरेका थिए  । सन् २०२१ अक्टोबर २५ मा सैन्य कु भएपछि काउन्सिल अफ जनरलबाट देश सञ्चालन गर्न थालियो  ।
सेना प्रमुख अब्देल फत्ताह र आरएसएफका प्रमुख हेमेत्तीबीच राज्य सञ्चालनको विषयलाई लिएर विवाद भइरहेको थियो  । अहिले आरएसएफ मातहतका १ लाख अर्धसैनिकलाई सेनामा आबद्ध गर्ने विषयले द्वन्द्वको रूप लिएको हो  । आरएसएफले यो भिडन्तलाई ‘आफ्ना जनताको अधिकार पुनःस्थापना गर्ने लडाइँ’ भन्दै आएको छ  । आरएसएफका कमान्डर हेमेत्तीले झडप नसकिएसम्म वार्ताका लागि तयार नभएको बताएका छन्  । सेना प्रमुख बुर्हानले भने दक्षिण सुडानमा वार्ताका लागि तयार भएको प्रतिक्रिया दिएका छन्  ।

विवादको अर्को कारण २००३ देखि डार्फर द्वन्द्वका क्रममा युद्ध अपराधको आरोप लागेका सेना र उसका सहयोगीले न्यायको खोजी गर्नु पनि हो  । अन्तर्राष्ट्रिय फौजदारी अदालतले बसिर र अन्य सुडानी संदिग्धहरूका लागि मुद्दा चलाउन खोजिरहँदा यति बेला द्वन्द्व चर्किरहेको छ  । २०१९ मा प्रजातन्त्रवादी प्रदर्शनकारीहरूको सामूहिक हत्यामा संलग्न सैन्य बलका नेताहरू पनि यति बेला न्यायको खोजीमा छन्  ।
यसबीचमा सुडानका पूर्वप्रधानमन्त्री अब्दुल्ला हमदुकले दुवै पक्षलाई संवादका लागि अन्तर्राष्ट्रियस्तरमा एकीकृत प्रयास गर्न अपिल गरेका छन्  । उनले यो एकप्रकारको मूर्खतापूर्ण लडाइँ भएको जनाउँदै कुनै पनि पक्षले जित्न नसक्ने बताएका छन्  । तर यो लडाइँबाट देशको अवस्था भने सिरिया र लिबियाजस्तो हुन सक्ने उनले चेतावनी दिएका छन््  । ‘यदि यो लडाइँ जारी रह्यो भने विश्वका लागि यो दुःस्वप्न सावित हुनेछ,’ उनले भने  ।

को हुन् सुडान संघर्षको केन्द्रमा देखिएका हमदान ?
जघन्य मानव अधिकार हननमा संलग्न क्रूर लडाकु समूहको नेतृत्वबाट उदाएका लेफ्टिनेन्ट जनरल मोहम्मद हमदान आफूलाई प्रजातन्त्रको प्रखर दाबी गर्छन्

सुडानमा गत शनिबारदेखि मुख्य सेना र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सबीचको संघर्ष अन्त्य हुन सकेको छैन  । संघर्षको केन्द्रमा छन्, कुनै वेला उँट व्यापारी रहेका लेफ्टिनेन्ट जनरल मोहम्मद हमदान  । अर्धसैनिक फौजको बलमा हमदानले पछिल्लो दुई दशकभित्र ठूलो प्रभाव र सम्पत्ति हासिल गर्न मात्रै सफल भएनन्, सत्ताको शिखरमा पुगेका थिए  ।

अहिले देशको सेनासँगको प्रत्यक्ष भिडन्तलाई धेरैले उनले हालसम्म सामना गरेको सबैभन्दा ठूलो चुनौतीको रूपमा हेरिएको छ  । शक्ति हासिल गर्ने महत्वाकांक्षाका लागि उनी कुनै वेलाका आफ्नै संरक्षक राष्ट्रपति ओमर हसन अल–बासिरविरुद्ध उभिन तयार थिए  । कुनै औपचारिक शिक्षा हासिल नगरेका भए पनि हमदानमा ठूलो राजनीतिक चातुर्य देखिन्छ, जुन कुरा उनले अल–बासिरविरुद्ध उभिँदा पनि देखाइसकेका थिए  ।

जघन्य मानव अधिकार हननमा संलग्न क्रूर मिलिसिया समूहको नेतृत्वबाट उदाएका हमदानले पछिल्लो समय आफूलाई प्रजातन्त्रको प्रखर समर्थक देखाउन थालेका छन् । यसका पछाडि पश्चिमा शक्तिको समर्थन हासिल गर्ने उद्देश्य लुकेको विश्लेषक बताउँछन् । उनले रुस र त्यहाँको शक्तिशाली वाग्नर सैन्य कम्पनीको सहयोग लिइरहेका छन् । वाग्नरले हमदानको व्यापारिक स्वार्थ जोडिएको सुडानका सुनखानीको सुरक्षा दिनेदेखि उनको फौजलाई सैन्य उपकरणको आपूर्ति गर्दै आएको छ  ।

सुडानभित्र हेमेद्ती भनेर चिनिने हमदान सुरुमा देशको पश्चिम क्षेत्रस्थित डार्फरमा व्यापार गर्थे  । उनको व्यापारिक वाहनमाथि विद्रोहीहरूले आक्रमण गरेर परिवारका सदस्यसहित झन्डै ६० जनाको ज्यान लिएपछि हेमेद्तीले हतियार उठाएको उनका पूर्वसहायक मुहम्मद साद बताउँछन् ।
बहुसंख्यक अरबीभाषी रहेको सुडानमा अन्य भाषाभाषीले पहिलेदेखि समान अधिकारको माग गर्दै आएका थिए  । आफ्नो माग पूरा नभएपछि डार्फर क्षेत्रका गैर–अरेबिकहरू सन् २००३ देखि विद्रोहमा उत्रिए  । केन्द्रस्थित खार्तुमको सरकारले विद्रोह दबाउन स्थानीय अरेबिक मिलिसियालाई प्रयोग र समर्थन गर्ने नीति लियो  । यसमा सबैभन्दा सफल बनेर उदायो, हेमेद्ती नेतृत्वको मिलिसिया समूह ‘जन्जाविद’  ।
सुडानमा झन्डै ३० वर्ष तानाशाही शासन चलाएका राष्ट्रपति अल–बासिर मोहम्मद हमदानको युद्धकौशलबाट यति प्रभावित भए कि राष्ट्रपतिले उनलाई दाहिने हातका रूपमा काखी च्यापे  । अल–बासिरले डार्फर द्वन्द्वपछि राज्यका अन्य क्षेत्रमा उठेका विद्रोह दबाउन पनि हमदान र उनको फौजको सहयोग लिन थाले  । यसबाट हमदानको शक्ति बढ्न थाल्यो  । समयसँगै उनले नेतृत्व गरेको फौजको संख्या र शक्ति बढ्दै गयो  ।

सुडानभित्र हेमेद्ती भनेर चिनिने हमदान सुरुमा देशको पश्चिम क्षेत्र डार्फरमा व्यापार गर्थे  । उनको व्यापारिक वाहनमाथि विद्रोहीहरूले आक्रमण गरेर परिवारसहित झन्डै ६० को हत्या गरेपछि हेमेद्तीले हतियार उठाएको उनका पूर्वसहायक मुहम्मद साद बताउँछन् ।

राष्ट्रपति बासिरले हमदानको मिलिसिया जन्जाविदलाई सीमा क्षेत्रमा हुने अनधिकृत क्रियाकलाप नियन्त्रण गर्ने अधिकारसहितको सीमा सुरक्षा बलको रूपमा प्रयोग गर्न स्वीकृति दिए  । सन् २०१३ मा विधिवत् रूपमा ‘जन्जाविद’ ¥यापिड सपोर्ट फोर्सेस(आरएसएफ) गठन भयो  । अल–बासिरले यस फौजलाई सन् २०१७ मा सरकारको एक सैन्य दस्ताको दर्जा दिए  । र, फौजका प्रमुख हमदानलाई लेफ्टिनेन्ट–जनरल पदवी दिए  ।

सुडान एकपछि अर्को आर्थिक संकटमा पर्दा जनरल हमदान भने सुन व्यापारबाट देशकै सबैभन्दा धनीमध्ये एक बनेका छन््  । ‘म पहिलो व्यक्ति होइन, जसको सुनखानीहरू छन् । हामीसँग सुनखानी भएको कुरा सही हो  । हामीलाई सुनमा काम गर्न कुनै तागतले रोक्न सक्दैन,’ जनरल हमदानले बिबिसीसँगको एक अन्तर्वार्तामा भनेका थिए  ।

पछिल्लो समय जनरल हमदानले यमन युद्धमा साउदी अरब र युएईको पक्षमा लड्न आफ्नो फौज पठाएपछि उनले थप शक्तिशाली मित्र बनाउन सफल भएका थिए  । वर्षौंसम्म राष्ट्रपति अल–बासिरलाई समर्थन गरेका जनरल हमदानले आम जनमत बासिरविरुद्ध भएसँगै चटक्कै उनलाई छाडिदिए  । अल–बासिरको बहिर्गमनको माग गर्दै प्रदर्शन भइरहँदा उनले राष्ट्रपतिविरुद्ध सेनाले गरेको ‘सफ्ट कु’लाई सघाए  ।

सुरुमा सुडानी सेनाले हमदान नेतृत्वमा अर्धसैनिक बलको गठनलाई शंकाको नजरले हेरेको थियो  । तर, सन् २०१९ मा आरएसएफले सुडानी सेनालाई पहिले बासिरविरुद्ध र पछि संक्रमणकालीन सरकार अपदस्थ गर्न सघायो  । दुई सैन्य बल नजिकिए  । सेनाकै स्वीकृतिमा जनरल हमदान सत्ता बाँडफाँडमा देशको दोस्रो वरीयताको पदमा राखिए  ।

तर, पछिल्लो समय आरएसएफलाई देशको सेनामा समायोजन गर्ने विषयमा सेना र आरएसएफबीच विवाद पुनः सतहमा आयो  । विवाद त्यतिबेला चर्कियो जतिबेला जनरल हमदानले आफ्नो फौजलाई राजधानीमा परिचालन हुन आह्वान गरे  । यही कार्यबाट बढेको तनाव दुई सैन्य समूहबीच भिडन्तमा बदलिएको छ  ।

देशको सेनासँगको प्रत्यक्ष भिडन्तलाई अहिलेसम्मकै ठूलो चुनौतीको रूपमा हेरिएको छ  । ‘यो मान्छे अपराधी हो,’ सुडानी सेना प्रमुख तथा देशका वर्तमान शासक जनरल अब्देल फताह अल–बुरहानले जनरल हमदानबारे टिप्पणी गरे  । सुडानका पहिलो र दोस्रो वरीयतामा रहेका यी दुई सैन्य अधिकारी अब शत्रुमा बदलिएका छन् । सेनाले हमदानलाई ‘विद्रोही’को संज्ञा दिएको छ  ।

शनिबारको भिडन्तअघि हमदानले प्रजातन्त्रको धेरै उल्लेख गर्न थालेका थिए  । यहाँसम्म कि उनले सन् २०२१ को अक्टोबरमा तत्कालीन संक्रमणकालीन नागरिक सरकारविरुद्धको कुलाई समेत गल्ती भन्न थालेका थिए  । तर, उनको पछिल्लो बोली परिवर्तनका बाबजुद डार्फर क्षेत्रमा विद्रोहीविरुद्ध उनको फौजले गम्भीर मानव अधिकार हनन गरेको आरोप छ  । सन् २००३ मा सुरु भएको द्वन्द्वमा झन्डै तीन लाखको ज्यान गएको थियो  ।

सन् २०१९ मा सेनाको हस्तक्षेपले अल–बासिरको बहिर्गमन भएपछि पनि पूर्ण नागरिक सरकारको माग गर्दै आन्दोलन चलिरह्यो  । दुई महिनापछि जुन २०१९ मा जनरल हमदानको फौजले तत्काल नागरिक शासनको माग गर्ने प्रदर्शनमाथि बल प्रयोग ग¥यो  । घटनामा कम्तीमा ११८ जनाको हत्या भयो  । यी विगतका आधारमा धेरैले आरएसएफ र सुडानी सेनाबीचको पछिल्लो संघर्षलाई प्रजातन्त्रका लागि नभएर हमदानको व्यक्तिगत महत्वाकांक्षाका लागि भएको द्वन्द्व मानेका छन््  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज