काठमाडौं/ मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन् रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै गोरखाका इन्जिनियर कुमार लामिछाने ।
नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गर्दै आएका हुन् ।
सिभिल इन्जिनियर लामिछानेले २०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गर्दै आएका छन् । लामिछानेले रु १५ करोड लगानीमा सुरुको समयमा ३० भैँसीबाट आफ्नो व्यवसाय सुरुआत गरेका हुन् । अहिले गोठमा एक सय ५० भैँसी र ७० गाई छन् । बीचको समयमा तीन सयसम्म भैँसीपालन गरे पनि अहिले धेरै भैँसी बिक्रीवितरण गरेर गाईसमेत पालन सुरु गरेका छन् ।
२०७२ देखि सिभिल इन्जिनियर पेसा अँगालेका लामिछानेकी श्रीमती सङ्गीता पनि इन्जिनियर नै हुन् । ‘सुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थें, विगत तीन वर्षदेखि इन्जिनियर पेसासँगै भैँसी र गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ’ लामिछाने भन्छन्।
उनको गोठबाट हाल दैनिक एक हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमध्ये पाँच सय लिटर काठमाडौँका विभिन्न दूध डेरीमा पठाउने र बाँकी पाँच सय लिटर दूध व्यक्तिको घर–घरमा पु¥याउने गरेको उनले सुनाए ।
लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु एक सय ५० र गाईको दूधको मूल्य प्रतिलिटर एक सय १० रहेको छ । उनको फार्ममा हाल २० कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक रु ३० देखि ३५ लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर रु १० लाख बचत हुने गरेको उनले बताए । गाई र भैँसीलाई उहाँहरुले पराल र दाना खुवाउँदै आएका छन्। गाई र भैँसीको मलसमेत उनले बिक्री गर्छन् ।