पुरुषलाई दुःख दिने प्रोस्टेट बढ्नुका कारण

पिसाब थैली र पिसाब नलीको बीचमा रहेको प्रोस्टेट ग्रन्थीले विर्यलाई आवश्यक पर्ने तत्व उत्पादन गर्छ  । ४० देखि ४५ वर्षको उमेरपछि पुरुषलाई प्रोस्टेटको समस्या देखिन थाल्छ  । यो उमेर समूहपछि प्रोस्टेटको आकार र वजन बढ्ने हुनाले यसबाट पिसाब र मिर्गौलासम्बन्धी समस्या आउन सक्छ  । २० देखि २५ ग्रामसम्मको प्रोस्टेटलाई ‘ग्रेड वान’ भनिन्छ, जसलाई सामान्य मानिन्छ  ।

त्यस्तै, २५ देखि ५० ग्रामसम्मको लागि ‘ग्रेड टु’ ५० देखि ७५ ग्रामसम्मको ‘ग्रेड थ्रि’ र ७५ ग्रामभन्दा माथिकोलाई ‘ग्रेड फोर’ भनी विभाजन गरिएको हुन्छ  । प्रोस्टेटका विभिन्न पाँच वटा टुक्रा (लोब) हुन्छन्  । कुन लोब कसरी बढ्यो त्यही अनुसार कसरी असर गर्छ भन्ने कुरा पत्ता लगाउन क्लिनिकल जाँचहरु गर्नुपर्ने हुन्छ  । प्रोस्टेट बढेपछि हुने समस्यालाई दुई तरिकाले हेर्न सकिन्छ  ।

१. इरिटेटिभ सिम्टम्स ः इरिटेटिभ सिम्टम्समा छिटो–छिटो पिसाब लाग्ने, पिसाब गर्न असहज हुने वा जलन हुने समस्या देखिन्छ  ।

२. अब्स्ट्रक्टिभ सिम्टम्सः पिसाब नलीमा कुनै किसिमको अवरोध आउनुलाई अब्स्ट्रक्टिभ सिम्टम्स भनिन्छ  । यसमा पिसाबको धारा मसिनो हुनु, पिसाबको गति कम हुनु र पिसाब फेरिसकेपछि पनि पूरै निख्रिएजस्तो नहुनु, राति धेरैचोटि पिसाब लाग्नु जस्ता समस्या देखिन्छन्  । प्रोस्टेटको अवरोधका कारण ‘युरिनरी ट्रयाक इन्फेक्सन’ (युटिआइ) हुने गर्छ  । त्यस्तै, यो समस्या जटिल बन्दै गएमा पिसाबमा रगत देखिनुका साथै किड्नीमा असर पुगी किड्नी फेल हुन सक्छ  ।

४० वर्षपछिकै उमेरमा उच्च रक्तचाप, मधुमेह, थाइराइड, मुटुको रोग, दमका रोग, इन्डोक्राइन रोगहरु हुन सक्ने भएकाले प्रोस्टेटको समस्या झन् जटिल बन्दै जान्छ  ।

प्रोस्टेट बढ्नुका मुख्य दुई कारण हुन्छन्  ।

१. बिनाइन (क्यान्सर नभएको) ः बिनाइन संक्रमणका कारण पनि प्रोस्टेट बढ्छ  । पुरुषको शरीरमा हुने टेस्टोस्टेरोन हर्मोनमा आउने गडबडीका कारण प्रोस्टेट बढ्ने सम्भावना रहन्छ  । यो उमेरसँगै बढेर आउने समस्या हो  ।

२. म्यालिग्न्यान्सी (क्यान्सर) ः म्यालिग्न्यान्सी हुनुको पहिलो कारण त वंशाणुगत नै हो  । त्यस्तै, रेडियोथेरापी गरिएको छ भने पनि यो समस्या आउन सक्छ  । कहिलेकाहीँ प्रोस्टेटको क्यान्सर नभई अन्य कुनै क्यान्सरका कारण रेडियोथेरापी दिइएको छ भने पनि म्यालिग्न्यान्सी हुन सक्ने खतरा रहन्छ  ।

परीक्षण तथा उपचार विधि

विभिन्न परीक्षणबाट प्रोस्टेटको समस्याबारे थाहा पाउन सकिन्छ  । ल्याब टेस्ट गर्नुअघि एक प्रकारको क्लिनिकल जाँच गर्नुपर्ने हुन्छ  । जसमा मलद्वारबाट औँला लगेर प्रोस्टेटको जाँच गरिन्छ  । यसबाट पनि प्रोस्टेटको आकार थाहा पाउन सकिन्छ  । अन्य परीक्षण विधि निम्नअनुसारका छन् ।

१. युएसजी (अल्ट्रा सोनो ग्रामर)स् यसबाट प्रोस्टेटको आकार र प्रोस्टेटको कुन टुक्रा कसरी बढेको छ भनेर हेरिन्छ  । यसबाट अवरोध भएरनभएको र पिसाब फेरिसकेपछि कति पिसाब बाँकी छ भन्ने कुरा हेरिन्छ  । कहीलेकाहीँ चार सयदेखि पाँच सय मिलिलिटरसम्म पिसाब जम्मा भएर आएका बिरामी पनि भेटिन्छन् । यस्तो अवस्थामा किड्नी फेल हुने सम्भावना बढी हुन्छ  ।

२. युरोफ्लोमेट्रीः यसमा बिरामीलाई मेसिनमा पिसाब फेर्न लगाइन्छ र पिसाबको धार कस्तो छ? पिसाबको ‘फोर्स’ कस्तो छ भनेर हेरिन्छ  । यसबाट पिसाबको गति थाहा पाइन्छ ।

३. पिएसए (प्रोस्ट्याटिक सेन्सेटिभ एन्टिजिन)स् प्रोस्टेटभित्र क्यान्सर भए÷नभएको पत्ता लगाउन पिएसए जाँच गरिन्छ  । तर, पिएसए बढ्दैमा क्यान्सर भएको छ भन्ने चाहिँ हुँदैन  । यो प्रोस्टेट क्यान्सर पत्ता लगाउनका लागि गरिने सामान्य स्क्रिनिङ मात्र हो  ।

४. पिसाबको जाँचः पिसाबमा संक्रमण छरछैन भनेर पिसाबको ल्याब परीक्षण गरिन्छ  । ‘युरिन कल्चर’ परीक्षण पनि गर्नुपर्ने हुन सक्छ । यसबाट पिसाबमा संक्रमण छ÷छैन भन्ने कुरा पत्ता लाग्छ  ।

५. किड्नी जाँचः किड्नी जाँचबाट चाहिँ प्रोस्टेटले किड्नीमा असर गरेको छरछैन भन्ने कुरा पत्ता लगाइन्छ ।

यी सबै जाँच गरिसकेपछि यदि बिनाइन प्रोस्ट्रेट हो भने पहिला औषधि चलाइन्छ र त्यसले कुनै काम गरेन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ  । प्रोस्टेटको आकार अनुसार शल्यक्रियाको किसिम पनि फरक हुनेगर्छ  ।

१. मोनोपोलार टियुआरपीः पिसाबनलीबाट औजारको सहयोगमा प्रोस्टेट ग्रन्थी खुर्किने विधिलाई मोनोपोलार भनिन्छ  । यो करिब ५० वर्ष पुरानो विधि हो  । यसमा मेसिनबाट दिइएको करेन्ट मानिसको शरीरबाट निस्कन्छ  ।

२. बाइपोलार टियुआरपीः यो विधि पनि मोनोपोलार जस्तै हो । तर यसमा चाहिँ मेसिनबाट मानिसको शरीरमा दिइएको करेन्ट मेसिनमै फर्किनेगर्छ  । यो मोनोपोलार टियुआरपीको परिमार्जित विधि हो  ।

३. ओपन सर्जरीः बिरामीको पेटको तल्लो भाग चिरेर प्रोस्टेट निकाल्ने विधिलाई ओपन सर्जरी विधि भनिन्छ  ।

४. लेजरः यदि बिरामीको प्रोस्टेटको आकार ६० ग्रामभन्दा धेरै छ, बिरामीलाई मुटुमा समस्या छ र रगत पातलो गर्ने औषधि लिइरहेको छ भने ‘लेजर सर्जरी’ गर्नुपर्ने हुन्छ  । यो पिसाबनलीबाट ‘रेज’ पठाएर गरिने सर्जरी हो । यो विधिको प्रयोग गर्दा शरीरबाट रगत निस्कँदैन ।

प्रोस्टेटको सर्जरी गर्दा कहिलेकाहीँ विर्य बाहिर ननिस्कने अवस्था आउन सक्छ  । तसर्थ, बच्चाको चाहना पूरा भएकाहरु सर्जरी गरेर यो समस्याबाट छिटो उम्किन सक्छन्  । बच्चाको चाहना छ भने चाहिँ औषधि सेवनबाट यसको समस्यालाई कम गर्न सकिन्छ ।

प्रोस्टेट क्यान्सर भएको शंका भएमा बायप्सी गरिन्छ  । बायप्सीका लागि मलद्वारबाट सानो सुइमार्फत प्रोस्टेटको टुक्रा निकालिन्छ । त्यसबाट पनि क्यान्सर पत्ता नलागेमा ‘एमआरआई गाइडेड बायप्सी’ गर्नुपर्ने हुन्छ । त्यसपछि क्यान्सरको अवस्था पत्ता लगाई उपचार गरिन्छ । सुरुवाती चरणको क्यान्सर भएमा ‘रोबोटिक सर्जरी’ गर्न सकिन्छ र पूरै निको हुन्छ  । तर, क्यान्सर जटिल अवस्थामा पुगिसकेको भए ‘रेडियोथेरापी’ र ‘केमो मोडुलेसन’ गरेरे बिरामीको प्रोस्टेटलाई स्थिर बनाइन्छ  । प्रोस्टेट क्यान्सर अरु क्यान्सरजस्तो चाँडो फैलिएर गम्भीर असर पार्दैन  । प्रोस्टेट क्यान्सर भएरनभएको थाहा पाउनका लागि समय–समयमा क्यान्सर स्क्रिनिङ गरिरहँदा यसको जोखिमबाट बच्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज