काठमाडौं/ लोकप्रिय नेपाली सांगीतिक समूह नेपथ्यले एक महिना लामो सांगीतिक यात्रा गर्ने भएको छ ।
‘नेपालय’को व्यवस्थापन हुन लागेको यो सांगीतिक यात्रा अन्तर्गत नेपथ्यको पहिलो प्रस्तुती मंसिर १६ गते बिराटनगरको हाटखोला मैदान आयोजना हुनेछ। विराटनगरपछि ब्याण्डले वीरगंजमा आफनो प्रस्तुति दिनेछ ।
नेपथ्यले यो सांगीतिक यात्राका क्रममा मनोरञ्जनसँगै मानवताको प्रवर्द्धनका लागि पनि आफूलाई मञ्चहरूमा उभ्याउने अठोट बोकेको छ ।
नेपथ्यका गायक अमृत गुरुङका अनुसार मंसिर १९ गते वीरगंजको आदर्शनगर रंगशालामा, मंसिर २२ गते हेटौंडाको भूटनदेवी स्कुल मैदानमा, २५ मंसिर गते नारायणघाटको क्याम्पाचौरमा ब्याण्ड उपस्थित हुनेछ। मंसिर महिनाको अन्तिम कन्सर्ट भने नेपालगन्जमा २९ गते आयोजना गरिनेछ।
ब्याण्डले पुस ३ गते धनगढीको रंगशालामा आफनो प्रस्तुति दिनेछ। पुस ६ गते वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा, पुस ९ गते बुटवलको रामनगर खेलमैदानमा, पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रस्तुति दिनेछन्। देशका सबै प्रदेशहरूमा प्रस्तुति सकेपछि पुस १६ गते काठमाडौंको भृकुटीमण्डपमा नेपथ्यले आफनो प्रस्तुति दिनेछ ।
नेपथ्यले यो सांगीतिक यात्राका क्रममा मनोरञ्जनसँगै मानवताको प्रवर्द्धनका लागि पनि आफूलाई मञ्चहरूमा उभ्याउने अठोट बोकेको छ । नेपथ्यले सडकमा रहेका असहायका निम्ति आश्रय थलो उभ्याउन कन्सर्टकै माध्यमबाट सहयोग समेत जुटाउने जनाएको छ । आफ्ना गीतहरूलाई ‘मानवता प्रवर्द्धन अभियान’ सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ।
मानव सेवा आश्रमका संस्थापक तथा अध्यक्ष रामजी अधिकारीका अनुसार यी कन्सर्टहरूको टिकट मानव सेवा आश्रमको आधिकारिक वेबसाइट ुएमएसए डट ओआरजी डट एनपीु मार्फत काट्न सकिन्छ। त्यसैगरी नेपथ्य ब्याण्डको वेबसाइटबाट पनि टिकट उपलब्ध गराइएको छ।