दार्चुला/ भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण थालेपछि दार्चुलामा नेपाल–भारत सीमास्थित बांगाबगरमा तनाव सिर्जना भएको छ । नेपाली पक्षले तटबन्ध निर्माणको विरोध गरेपछि भारतीय पक्षले नेपाली नागरिकमाथि ढुंगामुढा गरेका थिए ।
तटबन्ध निर्माणको विरोध गर्दै बांगाबगरका स्थानीयले नेपाल भारत जोड्ने झोलुङ्गे पुल बन्द गरेका छन् । नेपाल र भारतका स्थानीयले ढुङ्गा हानाहान गरेका र केही व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ ।
भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भए छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।
घटना बारे बुझ्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेय सीमा क्षेत्रमा गएको र थप विबरण आउन बाकिरहेको प्रहरीले जनाएको छ ।