चितवन/ माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पुर्याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेको थियो । अहिले यसलाई कार्यान्वयनमा ल्याइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न वर्गका विद्यार्थीलाई सार्बजनिक यातायातमा निःशुल्क गरिएको हो । यसका लागि यातायात व्यवसायीसँग सम्झौता भई कार्यान्वयनमा ल्याइएको अधिकृत ढकालले बताए।
अहिले पालिकाले विपन्न वर्गका विद्यार्थीका लागि आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट वञ्चित बन्नु नपरोस् भनेर यो कार्यक्रम ल्याएको बताउँदै उनले भने ‘माडी क्याम्पस वसन्तपुर, दिवाकर स्मृति बहुप्राविधिक विद्यालय र दश जोड दुई सञ्चालनमा आएका चार वटा माध्यमिक विद्यालयमा अध्ययनरत छ सय हाराहारी विद्यार्थी यो निर्णयबाट लाभान्वित हुनेछन् ।
निःशुल्क यातायात सेवाका लागि वडा र पालिकाले रु १४ लाख बजेट विनियोजन गरेको जानकारी दिदै अधिकृत ढकालले पालिकामार्फत यातायात छुट कार्ड वितरण गरेर सुविधा प्रदान गरिनेछ । यो सेवा मङ्सिर १५ गतेबाट लागु हुने उनले बताए ।