काठमाडौं / बी पी नेत्र प्रतिष्ठान, बाल आँखा कान नाक घाँटी अस्पताल एवं पुनःस्थापना सेवा भक्तपुरले दशौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
दशौँ वार्षिकोत्सवका अवसरमा अस्पतालले सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू आयोजना गरेको थियो । जसअन्तर्गत अस्पतालका कर्मचारीहरु बीच फुटसल, वृहत स्वास्थ्य मेला र बिभिन्न स्वास्थ्य तथा अपाङ्गता विषयका सन्देश मूलक प्लेकार्ड सहित भक्तपुरको गठ्ठाघर देखि अस्पतालको प्राङ्गण सम्म वाकाथन आयोजना गरेको थियो ।
यसका अतिरिक्त वार्षिकोत्सवको अवसर पारेर आफ्नो सामुदायिक स्वास्थ्य सेवा मार्फत फर्पिङ र आसपासको क्षेत्रमा साताव्यापी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो। उक्त शिविरबाट ५ सय २३ जना लाभान्वित भएका थिए । फर्पिङ स्थित मनमोहन सामुदायिक अस्पतालको सहकार्यमा शिविरमा भेटिएका ३९ जनाको मोतिबिन्दुको र १४ जनाको कान नाक घाँटी सम्बन्धी विभिन्न रोगको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
उक्त स्थानमा कान नाक घाँटी दन्त स्वास्थ्य पुनःस्थापना सेवा र टेलीहेल्थ सम्बन्धी प्रदर्शनी पनि भएको थियो ।
दशौँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगरले अस्पतालले सबै उमेर समुहका लागि सञ्चालन गरेको स्वास्थ्य सेवामा पनि बालबालिकाहरूलाई विशेष प्राथमिकतामा राखेको भन्दैै खुशी व्यक्त गरेका थिए ।
उक्त असरमा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान अवस्थामा स्वास्थ्य र आर्थिक अवस्था तथा आगामी दश वर्षमा हुनसक्ने अर्थ वाणिज्य बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा मध्यपुर थिमीका मेयर सुरेन्द्र श्रेष्ठले प्रतिष्ठानका मानार्थ अध्यक्ष प्रा. डा. मदन प्रसाद उपाध्यायले पनि मन्तव्य राखेका थिए । अस्पतालका कार्यकारी निर्देशक डा. सञ्जीव कुमार उपाध्यायले विगत दश वर्षमा अस्पतालले गरेका विभिन्न सेवा र कार्यक्रमहरूको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा अस्पतालका कर्मचारीहरूद्वारा नृत्य तथा गीत प्रस्तुत गरेका थिए । उक्त अवसरमा अस्पतालमा विगत १० वर्ष देखि कार्यरत कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
अस्पतालले विगत १० वर्ष देखि सबै उमेर समुहका सेवाग्राहीहरूलाई आँखा कान नाक घाँटी तथा दन्त र मुख स्वास्थ्यका साथै दृष्टि तथा श्रवण अपाङ्गता भएका बालबालिकाहरूलाई निःशुल्क रुपमा दैनिक जीवन उपयोगी तालिम दिदै आएको छ । तालिम पश्चात त्यस्ता बालबालिकाहरूलाई विद्यालय शिक्षाका लागि समावेशी विद्यालयमा भर्ना गर्ने गरेको जनाएको छ ।