काठमाडौं/ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत असोज १२ गतेदेखि देशभर लागू गरिएको निर्वाचन आचारसंहिता आज देखि हटाइएको छ ।
निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आचारसंहिता मंसिर २६ गते सोमबारदेखि लागू नरहेको जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आयोगले आजदेखि आचारसंहिता लागू नरहने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता एवम् सचिव शालिग्राम शर्मा पौडेलले यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सम्पूर्ण मन्त्रालयहरु तथा संवैधानिक निकायहरुमा जानकारी गराइसकेको बताए ।
मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन भएको थियो । आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण मङ्सिर २९ गते बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने तयारी गरेको छ ।