काठमाडौँ/सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सजाय भोग्दै आएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको छ । शोभराजका तर्फबाट परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले आजै थुनामुक्त गर्न र १५ दिनभित्र उनलाई आफ्नो देश फर्कने व्यवस्था मिलाउन पनि सरकारको नाममा आदेश दिएको हो ।
२०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोग लागेका शोभराजलाई भक्तपुर जिल्ला अदालतले ती दुई विदेशीको हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद) सजाय सुनाएको थियो । सर्वोच्च अदालतले २०६७ साउन १४ मा भक्तपुर जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
२०६० सालमा नेपाल आएका बखत शोभराज त्यसभन्दा २८ वर्ष पहिलेको हत्या अभियोगमा पक्राउ परेका थिए । २०६० असोज २ मा पक्राउ परेका शोभराजविरुद्ध त्यसपछि मात्रै पुराना मुद्दा ब्युँताएर फैसला गरिएको थियो । उनलाई भएको जन्मकैद अनुसार २०८० असोज १ सम्म उनी थुनामा बस्नुपर्ने थियो । हाल ७८ वर्ष पुगेका शोभराजले आफूले पनि जेष्ठ नागरिकले पाउने कैद छुटको सुविधा पाउनुपर्ने माग गर्दै आएका थिए । त्यसका लागि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
कारागार नियमावली, २०२० ले ६५ वर्ष उमेर पुगेका कैदीहरूलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ । त्यस्तो सुविधा विदेशी नागरिकले समेत पाउने व्याख्या गर्दै सर्वोच्च अदालतले अहिले १९ वर्ष (९५ प्रतिशत) कैद भुक्तान गरिसकेका शोभराजलाई पनि थुनामुक्त गर्न आदेश दिएको हो ।